





























काठमाडौं– धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ बगैचाचोकमा घरको छतबाट खसेर एक जना बालक गम्भीर घाइते भएका छन् । तीनतले पक्की घरको छतबाट खस्दा नीलकण्ठ नगरपालिका- ३ का राजेश बराईलीका ६ वर्षीय छोरा लिबरल बराईली घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक दाहालका अनुसार आइतबार दिउँसो करिब पौने १ बजे खेल्ने क्रममा तीनतले पक्की घरको छतबाट लिबरल बराईली खसेका हुन् । प्रहरीले घाइते बालकलाई उद्धार गरी तत्काल प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारमा प्राथमिक उपचारपछि धादिङ अस्पताल ल्याइएको थियो ।
जिल्ला अस्पताल धादिङबेसीमा थप उपचारपछि उनलाई काठमाडौँ रेफर गरिएको छ । अस्पताल स्रोतका अनुसार बालकको टाउको र देब्रे हातमा गम्भीर चोट लागेको छ र अवस्था गम्भीर रहेको जनाइएको छ ।
छतबाट खसेर गम्भीर घाइते भएका बराइलीको थप उपचारका लागि काठमाडौँ लगिएको छ । बालकको अवस्था गम्भीर रहेकाले हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी गरिए पनि खराब मौसमका कारण हेलिकप्टर ल्याउन नसकिएको र सक्दो छिटो उपचारका लागि काठमाडौँ लैजान नागढुङ्गा सुरुङ मार्ग प्रयोग गर्न सहजीकरण गरिएको प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिए।



