गल्छी गाउँपालिकाले ल्यायो ६७ करोड ६० लाखको बजेट

  • २०८३ अषाढ ९, मंगलबार (४० मिनेट अघि)
  • १६ पटक पढिएको
गल्छी गाउँपालिकाले ल्यायो ६७ करोड ६० लाखको बजेट

धादिङ– धादिङको गल्छी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६७ करोड ६० लाख ४३ हजार १ सय २९ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। गल्छी गाउँपालिका गाउँसभाको १५औँ अधिवेशनले नीति तथा कार्यक्रम र वजेट पेश गरेको हो ।

गाउँपालिका उपाध्यक्ष भाइकाजी तिवारीले पेश गरेको अनुमानित बजेट अनुसार आन्तरिक आयबाट १६ करोड ५८ लाख ९१ हजार ८ सय २४ रुपैयाँ संकलन हुने अनुमान गरिएको छ भने नगद मौज्दात ५ करोड रहेको छ ।

संघीय सरकारबाट राजस्व बाँडफाँडतर्फ ८ करोड ९९ लाख ५८ हजार रुपैयाँ, वित्तीय समानीकरण अनुदान १३ करोड ५८ लाख रुपैयाँ तथा सशर्त अनुदान १८ करोड ८६ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। यस्तै प्रदेश सरकारबाट सवारी कर राजस्व बाँडफाँडतर्फ ३ करोड २९ लाख ३० हजार ३ सय ५ रुपैयाँ, वित्तीय समानीकरण अनुदान १ करोड २७ लाख ४४ हजार रुपैयाँ, सशर्त अनुदान २ करोड १७ लाख १९ हजार रुपैयाँ, समपूरक अनुदान २ करोड ३४ लाख रुपैयाँ र विशेष अनुदान ५० लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

बजेटमा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै २२ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको छ। वडास्तरीय योजनाका लागि ३ करोड ४० लाख, पालिकास्तरीय योजनाका लागि ३ करोड ५० लाख, सडक तथा सार्वजनिक संरचना निर्माणका लागि ७० लाख तथा शाखास्तरीय कार्यक्रम सञ्चालनका लागि ९ करोड ३७ लाख ६४ हजार १ सय २९ रुपैयाँ छुट्याइएको छ। गत आर्थिक वर्षको दायित्व भुक्तानीका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

त्यसैगरी समपूरक प्रदेश योजनामा ३ करोड ५१ लाख, स्थानीय विशेष योजनामा २ करोड ५० लाख तथा साझेदारी कार्यक्रमका लागि १ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ। संघीय सशर्त चालु खर्चतर्फ १८ करोड ८६ लाख रुपैयाँ र सामान्य चालु खर्चतर्फ १२ करोड ५० लाख रुपैयाँ व्यवस्था गरिएको छ।

क्षेत्रगत बजेटतर्फ संस्थागत क्षमता विकास तथा सुशासनमा १३ करोड १५ लाख ८ हजार रुपैयाँ, शिक्षा, युवा तथा खेलकुदमा १८ करोड १९ लाख ९६ हजार रुपैयाँ, स्वास्थ्य क्षेत्रमा ६ करोड ५६ लाख ३४ हजार रुपैयाँ, आयुर्वेद सेवामा ५८ लाख रुपैयाँ तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक कार्यक्रमका लागि ४२ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ।

यस्तै पञ्जीकरण तथा सामाजिक सुरक्षातर्फ १३ लाख ८३ हजार ८ सय ५१ रुपैयाँ, खानेपानी तथा सरसफाइ क्षेत्रमा ५५ लाख ५० हजार रुपैयाँ, बालमैत्री स्थानीय शासन कार्यक्रमका लागि ४१ लाख २६ हजार ८ सय रुपैयाँ तथा आर्थिक विकास कार्यक्रमतर्फ १ करोड ९८ लाख ४ हजार १ सय ७८ रुपैयाँ विनियोजन गरिएको छ।

बजेट प्रस्तुत हुनुअघि गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्वाधार विकास, कृषि उत्पादन वृद्धि, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार र सुशासनलाई प्राथमिकतामा राखिएको बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट