धादिङ– रोट्रयाक्ट क्लब अफ धादिङको अध्यक्षमा भवानी भट्टराई चयन भएकी छन् । ‘Leadership Today, Impact Tomorrow’ भन्ने मूल नारासहित धादिङमा सम्पन्न तेस्रो पदस्थापन तथा नेतृत्व हस्तान्तरण कार्यक्रममा भट्टराईको नेतृत्वमा नयाँ कार्यसमितिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
क्लबको उपाध्यक्षमा सन्दिप रिजाल, सचिव सपना दाहाल, कोषाध्यक्ष प्रगति अर्याल, सार्जेन्ट एट आर्म्स (अनशासन तथा व्यवस्था संयोजक) प्रतिमा अर्याल, क्लब फाउन्डेसन संयोजक नबिना थापा, सिकाइ सहजीकरण संयोजक उत्तम सिलवाल, सदस्यता संयोजक पवन शर्मा आचार्य, जनसम्पर्क तथा प्रचारप्रसार संयोजक नीलकण्ठ बरुवाल, सेवा परियोजना संयोजक रोजिना धरेल, युवा नेतृत्व सम्पर्क संयोजक अनिश श्रेष्ठ, क्लब सल्लाहकार अशोक कुमार बस्नेत रहेका छन् ।
रोटरी क्लब अफ धादिङका वर्ष २०२६–२७ का अध्यक्ष रोटेरियन ईश्वर कँडेलले युवाहरूको नेतृत्व विकास र सामाजिक सेवामा रोट्रयाक्टले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए । समाजमा सकारात्मक र दीर्घकालीन प्रभाव पार्ने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा डिस्ट्रिक्ट कर्पोरेट पार्टनरसिप चेयर रोट्रयाक्टर सुदीप प्रसाईं ठाकुर तथा रोट्रयाक्ट क्लब अफ धादिङका सल्लाहकार एवं डिस्ट्रिक्ट कमिटी पोलियो को–चेयर रोटेरियन अशोक कुमार बस्नेत, क्लबका पूर्व अध्यक्ष श्रीकृष्ण रिजाल लगायत सहभागीहरूले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै संस्थाको सेवा र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी बनाउन सुझाव दिएका छन् ।
पदभार ग्रहणपछि अध्यक्ष भवानी भट्टराईले आफ्नो कार्यकालमा ‘Leadership Today, Impact Tomorrow’ को अवधारणालाई व्यवहारमा उतार्दै प्रत्येक महिना कम्तीमा एक प्रमुख कार्यक्रम सञ्चालन गर्ने तथा ‘Rotaract Social Responsibility (RSR)’ अभियान अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । युवा सशक्तीकरण, नेतृत्व विकास र सामुदायिक सेवाका गतिविधिलाई थप प्रभावकारी बनाइने उनले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
