धादिङ- धादिङमा नेपाली सेनाले विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसिसी) तालिम आइतबारबाट सुरु गरिएको छ । नेपाली सेनाको भैरव गण धादिङका प्रमुख सेनानी सुदिप शाहले नीलकण्ठ नगरपालिका– १२ सांकोषस्थित पशुपति माध्यामिक विद्यालयमा एक कार्यक्रमकाविच तालिमको शुभारम्भ गरेका हुन् ।



एक सय दिनको एनसिसी तालिमअन्तर्गत ७९ दिन विद्यालयमै सञ्चालन हुनेछ भने बाँकी २१ दिनको तालिम ‘क्लोज क्याम्प’का रूपमा हुनेछ । तालिममा विद्यार्थीलाई राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जफादेहिता, इमान्दारिता र बफादारिताका बारेमा प्रशिक्षित गरिने भैरव गण धादिङका प्रमुख सेनानी सुदिप शाहले बताए । ‘यसका अलावा सैन्यलगायत मानवीय र सामाजिक सेवाका बारेमा विद्यार्थीलाई तालिम दिइन्छ । विषद् व्यवस्थापन, सरसफाइ तथा वातावरणलगायतका विषयमा समेत जानकारी गराइन्छ’ उनले भने– ‘देशमा सेनाको आवश्यकता पर्दा तालिम लिएका तपाईहरु तयार रहनु पर्छ । हामीले सबै भन्दा पहिले खोज्ने तपाईहरु हो । यो यात्रामा जोडिनुभएको छ तपाई सबैलाई बधाई अनि शुभकामना ।’

यस तालिममा धादिङबाट ४ वटा विद्यालय छनौट भएका छन् । यो वर्ष ३ वटा जुनियर डिभिजन र पशुपति माविमा सिनियर डिभिजन तालिम गरिने छ । हरेक विद्यालयबाट १५ जना छात्रा र १५ जना छात्र गरि एउटा विद्यालयबाट ३० जना र धादिङबाट जम्मा १ सय २० जना विद्यार्थी तालिममा सहभागी रहने छन् ।
कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार), एनसिसि अल्मोनाई एसोसियसन नेपाल बागमती प्रदेश निर्देशक दिपा अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम भण्डारी लगायतले छनौट भएका विद्यार्थीहरुलाई बधाई दिदै तालिम सफलताको शुभकामना दिएका छन् ।

तालिममा प्रथम भएको विद्यालयका विद्यार्थीलाई विभिन्न मुलुक पठाउने गरिएको छ । सरकारमार्फत सेनाले सात मित्रराष्ट्रसँग युवा विद्यार्थीको अनुभव आदान–प्रदान कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
