धादिङ— तिब्बतबाट रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन अनावश्यक रुपमा मौज्जात नगर्न उपभोक्ता तथा व्यवसायीहरुलाई अनुरोध गरिएको छ । बजार उपभोक्ता हित संरक्षण समितिको नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माको अध्यक्षतामा बसेको वैठकले धादिङमा तत्कालका लागि आवश्यक खाद्यान्न तथा अति आवश्यक सामाग्री मौज्जात रहेको र फुर्के खोला पुल बगाएपनि वैकल्पिक मार्ग भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गरिएको छ ।


नागरिकलाई आवश्यक खाद्यान्न तथा अत्यावश्यक सामग्रीको अभाव हुन नदिन आपूर्ति व्यवस्थापनमा विशेष ध्यान दिने बैठकले निर्णय गरेको छ । विपद्को विषम परिस्थितिमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा अत्यावश्यक वस्तुको मूल्य बढाउने कार्य नगर्न व्यवसायीहरूलाई आग्रह गरेको छ । त्यस्तो कार्य गरेको पाइए प्रचलित कानुनअनुसार कडा कारबाही गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णयसमेत गरिएको छ ।
बैठकले हालको विषम परिस्थितिमा अत्यावश्यक वस्तुको सहज आपूर्तिका लागि व्यवसायीहरूलाई सहयोग गर्न र आम उपभोक्तालाई आवश्यक सामग्री उपलब्ध गराउन आग्रह गरेको छ । कृक्रिम अभाव हुन सक्ने भन्दै उपभोक्ताले पनि अनावश्यक रुपमा भण्डारण नगर्न अनुरोध गरिएको हो । साथै, आवश्यक परेमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ ।
यसैगरी, रसुवाको रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति बैठकले दुःख व्यक्त गरेको छ । बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । तिब्बतबाट रसुवा हुदै आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न ठाउँमा अहिलेसम्म १ सय ५७ जनाको शव भेटिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
