धादिङ — रोयम नेपाल धादिङले जीविका परियोजनाअन्तर्गत सहकारीकर्मीका लागि सहकारी व्यवस्थापनसम्बन्धी पुनर्ताजगी तालिम सञ्चालन गरेको छ । धादिङको नीलकण्ठ नगरपालिका–५ र नेत्रावती डबजोङ गाउँपालिका–५ मा रहेका सातवटा सहकारीका २६ जना प्रतिनिधि सहभागी तालिम दुई दिनसम्म सञ्चालन गरिएको हो ।


तालिममा सहकारी व्यवस्थापन, सुशासन, नेतृत्व विकास, वित्तीय व्यवस्थापन, अभिलेख व्यवस्थापन, जवाफदेहिता, सदस्यको सहभागिता तथा संस्थाको दिगो विकासलगायत विषयमा प्रशिक्षण दिइएको रोयम नेपालका परियोजना संयोजक हरिशरण धितालले बताए ।
उनका अनुसार तालिमले सहकारीकर्मीले यसअघि हासिल गरेको ज्ञानलाई पुनर्ताजगी गराउनुका साथै कार्यसम्पादनका क्रममा देखिएका चुनौती, अनुभव र अभ्यास आदानप्रदान गर्ने अवसर प्रदान गरेको थियो। सहकारीको प्रभावकारिता र दिगोपना अभिवृद्धिका लागि अपनाउन सकिने व्यावहारिक उपायबारे समेत सहभागीबीच छलफल गरिएको थियो ।
तालिमका क्रममा सहभागीहरूले समूहगत छलफल, अनुभव आदानप्रदान र व्यावहारिक अभ्यासमा सक्रिय सहभागिता जनाएका थिए। तालिमबाट सहभागी सहकारीका पदाधिकारी तथा प्रतिनिधिको व्यवस्थापन क्षमता थप सुदृढ गर्न सहयोग पुगेको रोयम नेपालले जनाएको छ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
