धादिङ– प्रयास नेपाल धादिङको अध्यक्षमा वीरबहादुर श्रेष्ठ पुनः चयन भएका छन्। संस्थाको २५औँ वार्षिक साधारण सभा तथा १०औँ अधिवेशनले श्रेष्ठलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो।
अधिवेशनबाट उपाध्यक्षमा उषा विक, सचिवमा सरिता श्रेष्ठ, सहसचिवमा कपिलदेव सापकोटा र कोषाध्यक्षमा विपिना सिञ्जाली मगर चयन भएका छन्। सदस्यहरुमा ईश्वरीमाया चेपाङ र निर्मला श्रेष्ठ चयन भएका छन्।
साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को प्रगति तथा आय–व्यय विवरण समीक्षा गरी अनुमोदन गरेको छ। चालु आर्थिक वर्ष २०८३/८४ का लागि संस्थाको नीति तथा कार्यक्रमसमेत पारित गरिएको छ। साधारण सभाले समसामयिक विषयमा १७ वटा निर्णय गरेको सदस्य रूपा कट्टेलले जानकारी दिइन्।
पछिल्लो २५ वर्षदेखि प्रयास नेपाल धादिङ शिक्षा, बाल संरक्षण, जीविकोपार्जन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, खानेपानी तथा सरसफाइ, जलवायु परिवर्तन, लैङ्गिक समानता, सामाजिक समावेशीकरण र सुशासनका क्षेत्रमा सक्रिय रहँदै आएको छ।
संस्थाले समुदायको दिगो विकास तथा अधिकार प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको कार्यकारी निर्देशक दामोदर अर्यालले बताए। उनका अनुसार गत भदौ १० गते आएको भोटेकोसी बाढीबाट प्रभावित परिवारलाई राहत तथा आवश्यक सामग्री सहयोग गर्नुका साथै विपद्पछिको तत्कालीन प्रतिकार्य र पुनःस्थापनाका कामसमेत सञ्चालन भइरहेका छन्।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
