धादिङ– अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा अमेरिकामा रहेका सामाजिक अभियन्ता बद्री खतिवडाले उम्मेदवारी दिने घोषणा गरेका छन्। असोज ३१ गते (अक्टोबर १७) धादिङमा हुने समाजको चौथो अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने उनले बताएका हुन्।


हाल अन्तर्राष्ट्रिय धादिङ समाजका उपाध्यक्ष रहेका खतिवडा लामो समयदेखि सामाजिक तथा मानवीय सेवामा सक्रिय छन्। समाजको तेस्रो महाधिवेशनबाट उनी अमेरिकाको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा चयन भएका थिए।
धादिङको गल्छी गाउँपालिका–२ स्थायी घर भएका खतिवडा पछिल्लो १५ वर्षदेखि अमेरिकामा बस्दै आएका छन्। हाल मेरिल्याण्डमा रहेका उनले अमेरिकामा व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत काम गर्दै आएका छन्। नेपाल र अमेरिकामा हासिल गरेको सामाजिक तथा व्यावसायिक अनुभवलाई समाजको नेतृत्वमा उपयोग गर्ने उनको योजना छ।
खतिवडाले नेपालमा करिब पाँच वर्ष सामाजिक सेवाको क्षेत्रमा काम गरेको बताएका छन्। Action Nepal मार्फत सामाजिक सेवामा संलग्न रहँदा विभिन्न समुदायसँग प्रत्यक्ष रूपमा काम गरेको तथा आर्थिक रूपमा विपन्न र आवश्यकतामा रहेका व्यक्तिलाई व्यक्तिगत रूपमा समेत सहयोग गर्दै आएको उनले बताए।
व्यवस्थापनमा स्नातकोत्तर तहको शिक्षा (MBA) हासिल गरेका खतिवडाले नेपाल तथा अमेरिकामा प्राप्त अनुभवलाई धादिङको विकास र विश्वभर रहेका धादिङवासीलाई जोड्ने अभियानमा प्रयोग गर्ने बताएका छन्।
अध्यक्ष पदमा उम्मेदवारी दिनुको मुख्य उद्देश्य समाजको भूमिकालाई शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, युवा, रोजगारी र उद्यमशीलतालगायतका क्षेत्रमा थप प्रभावकारी बनाउनु रहेको खतिवडाले बताएका छन्।
उनका प्राथमिकतामा विद्यार्थीका लागि छात्रवृत्ति तथा मेन्टोरसिप कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य क्षेत्रमा विशेषज्ञ तथा स्वास्थ्यकर्मीको नेटवर्क निर्माण गर्ने, धादिङका पर्यटकीय क्षेत्रको अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने तथा युवालाई सीप र उद्यमशीलतासँग जोड्ने कार्यक्रम छन्। स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने पहललाई समेत उनले प्राथमिकतामा राखेका छन्।
त्यस्तै, अन्तर्राष्ट्रिय धादिङ समाजलाई विश्वभर रहेका धादिङवासीबीच सहकार्य, समन्वय र एकताको प्रभावकारी मञ्चका रूपमा विकास गर्ने उनको योजना छ। संस्थागत पारदर्शिता, जवाफदेहिता र सबैको सहभागितालाई समेत उनले प्राथमिकतामा राखेका छन्।
‘पदका लागि होइन, सेवाका लागि नेतृत्व’ भन्ने मूल भावनासहित अध्यक्ष पदमा अघि बढ्न लागेको बताउँदै खतिवडाले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत उपलब्धिभन्दा पनि धादिङ र धादिङवासीको साझा हितका लागि जिम्मेवारीका रूपमा लिएको बताएका छन्।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
