धादिङ— बुढीगण्डकी बाढीबाट प्रभावित धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२, सेउली बजारस्थित सुकुम्बासी बस्तीका परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।


स्याङ्जाका पर्यटन व्यवसायी एवं समाजसेवी धन अधिकारीले सहयात्री समाज नेपाल, धादिङको सहकार्यमा बाढी प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराएका छन् । अधिकारीले प्रभावित परिवारलाई ब्ल्याङ्केट, सिरक, लत्ताकपडा, स्याम्पु, साबुन, सेनेटरी प्याड, फलफूल, दाल, सोयाबिन, तरकारी, बेबी सेट तथा सुत्केरी किटलगायत सामग्री वितरण गरेका हुन् ।
अधिकारीले यसअघि भदौ १० गते आएको भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका परिवारलाई पनि राहत सामग्री वितरण गर्दै आएका थिए । धादिङमा समेत बुढीगण्डकी बाढीबाट प्रभावित परिवारलाई सहयोग गरिएको उनले बताए । उनका अनुसार भोटेकोशी र बुढीगण्डकी बाढी प्रभावितका लागि हालसम्म करिब ५० लाख रुपैयाँ बराबरका राहत सामग्री वितरण गरिएको छ ।
सहयात्री समाज नेपालले महिला, बालबालिका तथा विपद् प्रभावित समुदायलाई लक्षित गरी राहत र जीविकोपार्जनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । विपद्का बेला प्रभावितलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउनुका साथै दीर्घकालीन समाधानका लागि पनि पहल गरिने सहयात्री समाज नेपाल, धादिङकी कार्यकारी निर्देशक राधिका सापकोटाले बताइन् ।
‘यो विपद्को घडीमा सबै मिलेर काम गर्नुपर्छ । आफूले गर्न सक्ने सहयोग गरेर प्रभावितहरूको घाउमा मलम लगाउने प्रयास गर्दै आएका छौँ । तत्कालका लागि आवश्यक खाद्यान्न र लत्ताकपडालगायत सामग्री वितरणमा सहयोग गरिरहेका छौँ,’ उनले भनिन्, ‘आगामी दिनमा दीर्घकालीन समाधानका लागि प्रभावित क्षेत्रका स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्छौँ ।’
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
