





























काठमाडौं- विषालु हावाले निस्सासिदा काठमाडौंको जनजीवन प्रभावित बनेको छ । धुलोधुवाँका कण वायुमण्डलको सतहमै फैलिँदा काठमाडौं उपत्यकाको वायु प्रदूषण घातक अवस्थामा पुगेपछि जनजीवन प्रभावित बनेको हो ।


बहीबार बिहान काठमाडौंको वायु प्रदूषण सूचकांक (एक्युआई) ३७३ सम्म पुगेको थियो । २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थकर र ३०१ देखि ४०० पुग्नुलाई घातक मानिन्छ । विषालु हावाका कारण आँखा दुख्ने, पोल्ने, पिरो हुने जस्ता स्वास्थ्य समस्या देखिन थालेको छ ।
गत सोमबारदेखि काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा पर्दै आएको आइक्यू एयरको वेबसाइटमा देखिन्छ । निकै प्रदूषित भनेर चिनिने दक्षिण एसियाका दिल्ली, ढाका र लाहोर सहरलाई पनि काठमाडौंले पछि पार्दै विश्वकै प्रदूषित सहर भएको छ । यसअघि ०७७ मा पुस र चैतमा काठमाडौंको वायु प्रदूषण घातक अवस्थामा पुग्दा विद्यालय नै बन्द गर्नुपरेको थियो ।
वातावरण विभागका वायु गुणस्तर अनुगमन स्टेसनमा पनि प्रदूषणको मात्रा उच्च देखिन्छ । बिहीबार राति १० बजे औसत एक घण्टामा एक्युआईको मात्रा भक्तपुरमा ४५४, रत्नपार्कमा २२१, खुमलटारमा २१० र शंखपार्कमा १९८ देखिन्छ ।
उपत्यकामा प्रदूषित हावा झन्झन् थपिँदै गएको छ । विषालु हावाले काठमाडौ निस्सासिदा जनजीवन प्रभावित बनेको छ । कोभिड– १९ मा मास्क अनिवार्य गरेझैँ वायु प्रदुषणबाट बच्न पनि मास्क लगाउनु पर्ने चिकित्सकहरुले सुझाव दिएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
