धादिङ– आदिवासी जनजातिका अधिकार र कानुनी व्यवस्थाबारे जानकारी दिने र अधिकार सुनिश्चित गर्न सहयोग पुर्याउने उद्देश्यले धादिङमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धादिङको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ धादिङको सह–आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी जनजातिका हक अधिकार, कानुनी प्रावधान, कार्यान्वयनको अवस्था, स्थानीय, प्रदेश र संघीय सरकारले आदिवासी जनजातिको क्षेत्रमा ल्याएका कार्यक्रम र उनीहरुको पहुँच र प्रभावकारिता लगायतका विषयमा प्रस्तुति राखेका थिए ।
छलफल कार्यक्रममा आदिवासी जनजातिका लागि छुट्याइने वजेट, कार्यान्वयनको अवस्था, संविधानमा रहेका अधिकार र नागरिकको पहुँच, आदिवासी जनजातिहरुले पाएका अधिकार र आगामी दिनमा गरिने पर्ने पहल लगायतका विषयमा छलफल गरिएको छ । कार्यक्रममा सहभागीहरुले संविधानमा रहेका अधिकार समेत नागरको पहुँचमा नभएको गुनासो गरेका छन् । स्थानीय तहका अधिकाशं जनप्रनिनिधि आदिवासी जनजाति भएपनि आदिवासी जनजातिले पाउनुपर्ने हक अधिकार छायाँमा परेको भन्दै गुनासो गरेका हुन् । आदिवासी जनजातिका क्षेत्रमा रहेका संघसंस्था अझै सक्रिय भएर आदिवासी जनजातिका हक अधिकार तथा आर्थिक क्षेत्रमा थप सवल बनाउन पहल गरिनु पर्नेमा सहभागीहरुले जोड तथा सुझाव दिएका छन् ।
त्यस्तै, वडा अध्यक्षहरुले पनि आदिवासी जनजातिको क्षेत्रमा सकेजति काम गरेको बताएका छन् । डाडु पन्यू आफ्नो हातमा नभएकोले पनि चाहेजति काम गर्न नसकेको वडा अध्यक्षहरुले प्रतिक्रिया दिएका छन् । यो अन्तरक्रिया कार्यक्रमले थप सहजता थपेको र कानुनी प्रावधानलाई टेकेर आगामी दिनहरुमा आदिवासी जनजातिका सवाल, हकहितमा काम गर्ने उनीहरुले प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
कार्यक्रमको सम्बोधन गर्दै आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी जनजातिका हक अधिकार सुनिश्चित गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । ‘संघीय सरकार सुनिने, प्रदेश सरकार देखिने र स्थानीय सरकार महसुस गरिने सरकार हो । स्थानीय सरकार घरआँगनको सरकार भएकाले नागरिकका काम कर्तव्य अधिकार स्थानीय अधिकारसँग जोडिएको छ’ उनले भने–‘कानुनी प्रावधानलाई टेकेर आदिवासी जनजातिका हक अधिकार सुनिश्चित गर्ने काममा जनप्रतिनिधि अग्रसर हुनु पर्छ । आदिवासी जनजाति पनि आफ्नो माग लिएर स्थानीय सरकार समक्ष ढोका ढक्ढकाउन पर्यो, स्थानीय सरकारले पनि मत दिएका नागरिकका आवश्यकताको सम्बोधन गर्नुपर्यो ।’
त्यस्तै, फोनिज धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले आदिवासी जनजाति एकजुट भए मात्रै आदिवासी जनजातिका सवाल तथा मुद्धाको सम्बोधन हुने र हक अधिकार सुनिश्चित हुने बताएका छन् । ‘सबैको समन्वय भए मात्रै आदिवासी जनजातिका समस्या तथा सवालको समाधान हुने र हक अधिकार सुनिश्चित हुन्छ । जनप्रतिनिधि, पत्रकार, आदिवासी जनजातिकाको क्षेत्रमा काम गर्ने संघ संस्था, सरोकारवाला निकाय सबैको सहकार्य आवश्यक छ’ उनले भने– ‘एकताको सन्देश दिन आज नेपाल आदिवासी जनजाति पत्रकार महासंघ धादिङले नपाल आदिवासी जनजाति महासंघसँग सहकार्य गरि कार्यक्रम गरेको हो । आदिवासी जनजातिका सवाल तथा मुद्धा उठ्ठानसँगै हक अधिकार सुनिश्चित गर्न फोनिज धादिङ सधै सहकार्य गर्न तयार छ, सँगै रहनेछौं ।’
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजाल, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी, धादिङ जिल्लाका विभिन्न पालिकाका वडा अध्यक्षहरु, आदिवासी जनजाति संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरु लगायत स्थानीयहरु सहभागी भएका थिए ।
#फोनिज_धादिङ #जनजातिका_अधिकार
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप