धादिङको बेनीघाटमा शैक्षिक सुधारका निमित्त सुझाव संकलन गोष्ठी सुरु

धादिङको बेनीघाटमा शैक्षिक सुधारका निमित्त सुझाव संकलन गोष्ठी सुरु

काठमाडौँ– दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० को कोट थाप्केमा आजदेखि शैक्षिक सुधारका लागि सुझाव सङ्कलन सम्बन्धी गोष्ठी सुरु भएको छ । शैक्षिक सुधार र गुणस्तरीय शिक्षामा जोड दिने उद्देश्यले गोष्ठीको आयोजना गरिएको हो ।

Advertisement

गोष्ठीमा अभिभावक तथा शिक्षकहरूले विद्यालय शिक्षाको सुधारका लागि विभिन्न सुझावहरू दिएका छन् । अभिभावकहरूले विद्यालयमा विद्यार्थीहरूको नियमित उपस्थितिमा ध्यान दिनुपर्ने, पढाइसँगै अनुशासन र संस्कारमा पनि जोड दिनुपर्ने, विद्यालय र घरबीचको समन्वय अझ प्रगाढ बनाउनुपर्ने सुझाव दिएका छन् । त्यस्तै, शिक्षकहरूले पाठ्यक्रम परिमार्जनका साथसाथै सिकाइमा सहजीकरण गर्न आवश्यक स्रोत साधन उपलब्ध गराउनुपर्ने, विषयगत तालिम र प्राविधिक सहयोग निरन्तर रूपमा पाउनुपर्ने, विद्यालयमा वैज्ञानिक मूल्याङ्कन प्रणाली लागू गर्नुपर्ने, स्थानीय तहले विद्यालयको भौतिक संरचना तथा सिकाइ वातावरणमा विशेष ध्यान दिनुपर्ने  लगायतका सुझावहरू दिएका छन् ।

कार्यक्रममा विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने र उनीहरूलाई शिक्षामा निरन्तरता दिन अभिभावक, शिक्षक र समुदायबीच सहकार्यको आवश्यकता औल्याएका छन् । समुदायमा अझै पनि बालविवाह रहिआएको र बालविवाहले शैक्षिक क्षेत्रमा ठूलो प्रभाव परेको उनीहरूले बताएका छन् ।

बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक)ले शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । “शिक्षा सुधारका लागि यो गोष्ठी एउटा अभियान हो । गत वर्षदेखि यस्ता अभियानहरू सञ्चालन गर्दै आएका छौं । यहाँबाट प्राप्त भएका सुझावहरूलाई कार्ययोजनामा परिणत गरेर विद्यालयको गुणस्तर सुधारमा गाउँपालिका अग्रसर हुनेछ” उनले भने ।

गोष्ठीमा सहभागी सरोकारवालाहरूले आगामी दिनमा विद्यार्थीको सिकाइ उपलब्धि मापन, शिक्षक अभिवृद्धि तालिम, र विद्यालय–समुदाय सहकार्य कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट