धादिङका पत्रकारलाई एआई सम्बन्धी तालिम

  • २०८२ मंसिर १५, सोमबार (६ महिना अघि)
  • १४४ पटक पढिएको
धादिङका पत्रकारलाई एआई सम्बन्धी तालिम

धादिङ– धादिङमा ‘विकास पत्रकारिता र कृत्रिम बौद्धिकता (एआई) को प्रयोग’ सम्बन्धी तीनदिने तालिम आजदेखि धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चैलिङमा सुरु भएको छ । सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने र एआईको प्रयोग द्वारा पत्रकारिता क्षेत्रलाई थप अब्बल बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले वेनिघाट रोराङ गाउँपालिकाको सहयोगमा तालिम संचालन गरेको हो । तालिममा धादिङ जिल्लाभित्र रहेर विभिन्न संचारमाध्यममा कार्यरत २६ जना पत्रकारहरु सहभागी रहेका छन् ।

तालिमको उद्घाटन समारोहको सम्बोधन गर्दै बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले एआई जस्ता आधुनिक प्रविधिले पत्रकारितामा नयाँ सम्भावना खोलिदिएको बताएका छन् । “एआईले पत्रकारिता सहज मात्रै होइन, जिम्मेवारी पनि बढाउँछ” उनले भने, “अहिले प्रविधिको युग हो । प्रविधिको उचित प्रयोग गर्न सके हाम्रो दैनिकी सहज बन्छ । यस्तो तालिमले तथ्यपरक र विश्वसनीय सूचना प्रवाहमा मद्दत पुग्नेछ । धादिङको सिङ्गो पत्रकारिता जगतमा टेवा पुग्ने छ। ”

नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले मुद्दा उठ्ठान र तथ्यमा आधारित रिपोर्टिङमा एआईको उपयोग महत्वपूर्ण बनेको बताए । उनले भने- “पत्रकारितामा प्रविधि अनिवार्य भइसकेको छ । एआईलाई सही तरिकाले प्रयोग गर्न सके स्थानीय पत्रकारिताको स्तर अझै उकासिन्छ । उत्तरी धादिङको रुवीभ्याली देखि दक्षिणी धादिङको महाभारतसम्म फैलिएको धादिङ पत्रकारिता क्षेत्रको उर्वरभूमि हो। त्यस्तै दुई ठूला राजमार्ग धादिङमा पर्दछ । प्रविधिको उच्चतम प्रयोग गर्न सके धादिङको पत्रकारिता क्षेत्रले फड्को मार्नेछ। ”

मंसिर १५ देखि १७ गतेसम्म सञ्चालन हुने तालिममा सहभागी पत्रकारहरूलाई विकास पत्रकारिताका सिद्धान्त, तथ्य संकलनका विधि, स्थानीय विकासका मुद्दा पहिचान तथा एआई उपकरणहरूको प्रयोगबारे व्यवहारिक प्रशिक्षण दिने कार्यक्रम रहेको नेपाल पत्रकार महासंघ धादिङका सचिव सन्तोषराज श्रेष्ठले जानकारी दिए । तालिमले जिल्लामा विकास पत्रकारिता सुदृढ गर्न, प्रविधि–मैत्री समाचार लेखन प्रवर्धन गर्न तथा स्थानीय सञ्चारकर्मीलाई एआई सम्बन्धी ज्ञान दिई दक्ष बनाउने लक्ष्य राखिएको उनले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट