





























धादिङ– धादिङको गल्छी गाउँपालिकाको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि द राइजिङ भिलेज इङलिस स्कुलले जितेको छ । गल्छी गाउँपालिका–६ मा अवस्थित यस स्कुलले ९ स्वर्ण पदक, ६ रजत ३ कास्य गरी १८ पदकसहित उपाधि हात पारेको हो।
त्यसैगरी प्रतियोगितामा गल्छी गाउँपालिका- ६ मा अवस्थित सक्सेस एकेडेमीले द्वितीय स्थान हासिल गरेको छ । ६ स्वर्ण पदक, २ रजत २ कास्य गरी १० पदक सहित दोस्रो स्थान हासिल गरेको हो ।
गल्छी गाउँपालिका-५ मा रहेको अमन्तादेवी माध्यमिक विद्यालयले ५ स्वर्ण ५ रजत ९ कास्य गरी १९ पदकसहित तृतीय बनेका छन् ।

प्रतियोगितामा गल्छी गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत गरी १५ विद्यालयहरुको सहभागिता रहेको थियो।
एथलेटिक्स, दौड, भलिबल, कबड्डी लगायतका विभिन्न खेल विधामा सम्पन्न प्रतियोगितामा समग्र रूपमा ३० स्वर्ण, ३० रजत र ३० कास्यगरि ९० वटा पदक वितरण गरेको हो ।
विद्यार्थी खेलाडीहरूले देखाएको प्रतिस्पर्धात्मक क्षमता, अनुशासन र खेल भावना प्रशंसनीय रहेको आयोजकले गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले बताए । ‘विजयी विद्यालय तथा विद्यार्थीहरूलाई बधाई दिँदै खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक र नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । विद्यालय तहबाटै खेलकुदको प्रवर्द्धन गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्न गाउँपालिका प्रतिबद्ध रहेको छ’ उनले भने ।
कार्यक्रममा जनप्रतिनिधि, शिक्षा शाखाका अधिकारी, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। विगतमा जस्तै गल्छी गाउँपालिकाले आगामी वर्षहरूमा पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई निरन्तरता दिँदै खेलकुद विकासलाई प्राथमिकतामा राख्ने जनाएको छ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
