नेपाल पत्रकार महासंघका पूर्व सभापति होमनाथ दाहालको निधनमा धादिङमा शोकसभा

  • २०८२ पौष २६, शनिबार (२१ घण्टा अघि)
  • ४९ पटक पढिएको
नेपाल पत्रकार महासंघका पूर्व सभापति होमनाथ दाहालको निधनमा धादिङमा शोकसभा

धादिङ- नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सभापति तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले शोकसभा गरेको छ । दाहालको २०८२ साल पौष २५ गते निधन भएपछि उनको स्मृतिमा शोकसभा गरिएको हो ।

Advertisement

दाहाल २०४९ देखि २०५१ सालसम्म महासंघको केन्द्रीय सभापतिको जिम्मेवारीमा रहेका थिए । ओखलढुङ्गा जिल्लाको बरुणेश्वरमा जन्मिएका दाहाल नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, वीपी विचारका सच्चा अभियन्ता तथा नेपाली कांग्रेसको मुखपत्र राष्ट्रपुकार साप्ताहिकका सम्पादक समेत रहेका थिए । दाहाल महासंघको नेतृत्वमा रहँदा संगठनलाई सुदृढ बनाउने, पत्रकारहरूको पेशागत हकहित तथा सुरक्षा र स्वतन्त्र पत्रकारिताको पक्षमा निरन्तर पैरवी गरिरहेका थिए । शोक सभा कार्यक्रममा पत्रकारिता क्षेत्रमा पुर्याएको उच्च योगदानको चर्चा गरिएको छ ।

शोकसभामा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारीले दाहाललाई निष्ठावान, सिद्धान्तनिष्ठ र पत्रकारहरूको अभिभावकका रूपमा स्मरण गरेका छन् । उनको योगदान नेपाली पत्रकारिताको इतिहासमा सदा अमर रहने उनले बताए । ‘उहाँको पत्रकारिता इतिहासबाट अहिलेको पुस्ताले धेरै सिक्नुपर्छ । उहाँको योगदानले नेपाली पत्रकारिता क्षेत्रको उचाई थपिएको छ । उहाँलाई हामी सधैं सम्झिरहने छौं’ उनले भने ।

त्यसैगरी, नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले चुनौतीपूर्ण राजनीतिक परिवेशमा दाहालले महासंघलाई सक्रिय, एकीकृत र प्रभावकारी बनाउँदै पत्रकारितालाई लोकतान्त्रिक मूल्य–मान्यतासँग जोड्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भने– ‘शरिर हाम्रो माझ रहेन तर उहाँले पुर्याउनु भएको योगदान र देखाउनु भएको बाटोले भावी पुस्ताका लागि ठूलो पाठशाला हो ।’

नेपाल पत्रकार महासंघ धादिङले स्थापना दिवसका अवसरमा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम आयोजना गर्ने तयारी गरेपनि पूर्व सभापति दाहालको निधनको खबरपछि कार्यक्रमलाई शोकसभामा परिणत गरिएको धादिङका अध्यक्ष सिताराम अधिकारीले बताए । शोकसभामा दिवंगत दाहालप्रति मौनधारण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट