





























धादिङ- धादिङको नीलकण्ठ नगरपालिका–३ मिलनटोलमा अवस्थित न्यू धादिङ बोर्डिङ स्कुलले आफ्नो १७औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ। २०६५ सालमा स्थापना भएको न्यु धादिङ बोर्डिङ स्कुलले धादिङको शैक्षिक क्षेत्रमा ठूलो योगदान पुर्याउँदै आएको छ।



विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक अभिषेक बसौलाले सबैको साथ, सहयोग र विश्वासकै कारण विद्यालय शैक्षिक सुधार गर्दै आजको अवस्थामा आइपुगेको बताए। उनले गुणस्तरीय शिक्षालाई निरन्तरता दिन विद्यालय प्रतिबद्ध रहेकोसमेत उल्लेख गरे।
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले निजी स्तरमा सञ्चालित विद्यालयहरूले शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताए। उनले सामुदायिक र निजी दुवै क्षेत्र मिलेर शिक्षा सुधारमा लाग्नुपर्नेमा जोड दिए।

विद्यालयको वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रममा सहभागी भएकाहरूले विद्यालयको खुलेरै प्रशंसा गरेका छन्। विद्यालयको पठनपाठन अतिरिक्त क्रियाकलाप लगायतका क्षेत्रमा बालबालिकाहरू अब्बल रहेको उनीहरूको भनाइ छ। नयाँ भर्नासँगै विद्यालयले थप सुधार गरी अझै परिस्कृत गर्दै लैजाने उनीहरुले अपेक्षा गरेका छन्।
वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विद्याकी देवी सरस्वतीको पूजाआराधना गरिएको थियो । सांस्कृतिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरूको प्रतिभा झल्किने नृत्य, गीत तथा अन्य प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
