





























काठमाडौं– आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष बनाउन धादिङका राजनितिक दलहरु एजजुट भएका छन् । मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा उम्मेदवारहरूले एक कार्यक्रमका विच संयुक्त रुपमा साझा प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।



निर्वाचनको समयमा प्रचारप्रसारका गतिविधिहरूलाई शान्तिपर्ण, सौहार्दपूर्ण, मैत्रीपर्ण, मितव्ययी तथा मर्यादित बनाई मतदान प्रक्रियालाई स्वतन्त्र र निष्पक्ष बनाउने उनीहरुले प्रतिवद्धता गरेका छन् । प्रतिवद्धतामा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता– २०८२ को पालना गर्न गराउन र निर्वाचनको सम्बन्धमा उत्पन्न हने विवाद तथा असमझदारी आपसी समन्वय तथा संवादबाट समाधान गर्ने उल्लेख छ ।

एक आपसमा अरुको कमजोरी खोज्ने र घोचपेज गर्नु भन्दा जनताको मत स्वीकार गर्नुपर्ने उम्मेदवारहरुले बताएका छन् । धादिङकै विकास र जनताको हितमा काम गर्ने भन्दै निर्वाचनपछि पनि जुनसकै पार्टी तथा जोकोही निर्वाचित भए पनि सहकार्य र समन्वयका साथ धादिङको विकास तथा समतामूलक समाज निर्माणमा काम गर्ने उनीहरुले प्रतिवद्धता जनाएका हुन् ।
राजनितिक दलका प्रमुख एवम् प्रतिनिधिहरुले पनि निर्वाचन आचारसंहितमा जोड दिएका छन् । उनीहरुले सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता, मतदाता, आम नागरिक तथा सञ्चारकर्मीहरुलाई निर्वाचनलाई सफल बनाउन सहयोग, निगरानी र खबरदारी गर्न आग्रह गरेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
