दशौं धादिङ महोत्सव सुरु

दशौं धादिङ महोत्सव सुरु

काठमाडौं- जिल्लाको सदरमुकाम धादिङबेसीमा दशौं धादिङ महोत्सव सुरु भएको छ । धादिङको दिगो विकास र अर्थतन्त्रको आधार कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार भन्ने मूल नारासहित नीलकण्ठ नगरपालिकाको संरक्षकत्वमा धादिङ उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेको हो ।

Advertisement

महोत्सव उद्घाटनको अवसरमा धादिङबेसी बजारमा तामाङ, नेवार, चेपाङ, गुरुङ, कुमाललगायत विभिन्न समुदायको सहभागितामा सांस्कृतिक झाँकीसहित र्याली निकालिएको थियो । जिल्लाका विभिन्न स्थानबाट सहभागीहरूले आफ्नो जातीय पहिचान झल्किने भेषभूषा र सांस्कृतिक प्रस्तुतिमार्फत महोत्सवलाई आकर्षक बनाएका थिए । र्यालीमा आएका झाँकीहरुको प्रतियोगिता समेत गरिएको थियो ।

महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र राष्ट्रको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएको भए पनि विभिन्न कारणले मारमा परेको बताएका छन् । उनले निजी क्षेत्रले सरकारलाई राजस्व तिर्ने, रोजगारी सिर्जना गर्ने र विकास निर्माणको साझेदारको भूमिकामा रहे पनि आन्दोलनका नाममा तोडफोड र आगजनीको शिकार बन्नुपरेको गुनासो गरे ।

ढकालले कुल कर योगदानको ८० प्रतिशतभन्दा बढी र कुल रोजगारीको करिब ८६ प्रतिशत निजी क्षेत्रबाट योगदान दिएको बताए । ‘निजि क्षेत्रले राष्ट्रिय गौरवका आयोजनाहरुमा पनि लगानी गर्दै आएको छ । सरकारले बूढीगण्डकी जलविद्युत आयोजना तत्काल अघि बढाउनु पर्छ । निजी क्षेत्रको लगानीमा स्थापना भएको कम्पनीमार्फत उक्त आयोजनामा सहयोग गर्न तयार छौं’ उनले भने।

कार्यक्रमका अवसरमा बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको माग गर्दै हस्ताक्षर अभियानसमेत सुरु गरिएको छ । बूढीगण्डकी आयोजना धादिङ र गोरखामात्र नभई राष्ट्रकै गौरवको आयोजना भएकाले शीघ्र कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका छन् । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले महोत्सवले स्थानीय उत्पादनको बजारीकरण गर्दै दिगो विकासमा टेवा पुर्याउने बताए । उनले भने– ‘भैरवी मन्दिरको प्रचार–प्रसारमार्फत पर्यटन प्रवद्र्धन गर्दै आयआर्जनसँग जोड्ने प्रयास गरिएको छ । धादिङमा रहेका खनिजजन्य पदार्थ, उद्योग–कलकारखाना तथा अन्य सम्भावनाका क्षेत्रले जिल्लाको विकासमा ठूलो योगदान दिन सक्छन । निजी क्षेत्र सरकारसँग हातेमालो गर्न तयार छ।’

माघ १५ गतेदेखि सुरु भएको दशौँ धादिङ महोत्सव माघ २५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा १५८ वटा स्टल, स्थानीय परिकार, कृषि तथा औद्योगिक प्रदर्शनी, बाल उद्यान र दैनिक सांस्कृतिक कार्यक्रम मुख्य आकर्षणका रूपमा रहेका छन्। स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । महोत्सवमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब तीन करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

 

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट