





























धादिङ– जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको रोजमेरी चाइल्ड केयर बोर्डिङ स्कुलले चित्रकला तथा हस्तकला सामाग्री प्रदर्शन गरेको छ । १८औं अभिभावक दिवसको अवसर पारेर विद्यालयले चित्रकला तथा हस्तकला सामाग्री प्रदर्शन गरेको हो ।



शिक्षक तथा विद्यार्थीरुले बनाएका विभिन्न सामाग्रीहरु प्रदर्शनीमा राखिएका हुन् । विद्यार्थीहरुले बनाएका विभिन्न खालका चित्रहरुको प्रदर्शन गरिएको हो । साथै, घरायसी कामकाजमा प्रयोग हुने कुचो, पुराना माटोको चुलोदेखि कला संस्कृति झल्किने खालका सामाग्रीहरु राखिएका छन् । परालको गुन्द्री, चकटी, मादल, खुर्पी ठ्याक, कागजका खेलौनाहरु, क्लेबाट बनेका खेलौडाहरु, कपडाका सामाग्रीहरु लगायतका विभिन्न सामाग्रीहरु प्रदर्शनीमा राखिएका छन् ।

विद्यार्थी, शिक्षकहरुले बनाएका प्रदर्शनीका सामाग्रीहरु अवलोकन गरेका अभिभावकहरुले खुसी व्यक्त गरेका छन् । लोपोन्मुख परम्परागत सामाग्रीको प्रदर्शनीले जगेर्ना र संरक्षणको सन्देश दिएको छ । चित्रकला र हस्तकलाद्धारा बनाइएका पुराना सामाग्रीको प्रदर्शनीले कला, संस्कृतिको पुस्तान्तरण तथा पुराना समाग्री पहिचानको अवसर मिलेको छ । उनीहरुको सिप, क्षमतालाई उत्प्रेरणा र जागरणमा रुपान्तरण गरिएको अभिभावकहरुले बताएका छन् ।
एक महिना लगाएर शिक्षक तथा विद्यार्थीहरुले बनाएका चित्रकला तथा हस्तकलाका सामाग्रीहरु प्रदर्शनीमा राखिएका हुन् । व्यवहारिक ज्ञान दिन र बढ्दो प्लास्टिकको प्रयोग न्यूनिकरण तथा खेर फालिने गरेका सामाग्रीको पुनः प्रयोग गर्ने सन्देश दिन प्रदर्शनी गरिएको शिक्षकहरु बताउँछन् । मोबाइल, टेलिभिजन हेर्ने समयको सदुपयोग गरेर यस्ता सामाग्री निर्माण गर्न सकिए समाजमा सकारात्मक प्रभाव पर्ने उनीहरुको भनाई छ ।
प्रदर्शनीले क्षणिक रमाइलो मात्र नभएर सिकाई र संस्कार हस्तान्तरण गरेको छ । महिनादिनसम्म एक आपसमा शिक्षक र विद्यार्थीको मेहनत र सिर्जनशिलता विद्यार्थी, शिक्षक तथा अभिभावकहरुका लागि मात्र नभएर हामी सबैका लागि प्लास्टिकको प्रयोग न्यूनिकरण तथा सामाग्रीको पुनः प्रयोग गर्न सन्देश दिएको प्रधानाध्यापक संगिता श्रेष्ठ बताउँछन् ।
भव्य मञ्च र महँगा कार्यक्रमको प्रतिस्पर्धाभन्दा बाहिर रहेर रोजमेरी चाइल्ड केयर बोर्डिङ स्कुलले सिर्जनशीलता, संस्कार र व्यवहारिक शिक्षालाई प्राथमिकतामा राख्दै १८औँ अभिभावक दिवसलाई अर्थपूर्ण बनाएको छ। चित्रकला र हस्तकलामार्फत विद्यार्थीहरूमा सिप, चेतना र संस्कृतिप्रतिको जिम्मेवारी विकास गर्नु नै शिक्षाको सार हो भन्ने सन्देश दिएको छ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
