





























नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार धनबहादुर घलेले गाउँ–टोल केन्द्रित घरदैलो अभियानलाई तीव्रता पारेका छन् ।
शुक्रबार खनियाबास गाउँपालिका वडा नम्बर–५ को सत्यदेवी तथा धादिङ–नुवाकोट सिमाना क्षेत्रमा पर्ने माउर बस्तीमा पुगेर उनले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाटसँगै अन्तरक्रिया गरेका हुन् । घरदैलोका क्रममा खनियाबास गाउँपालिकाको पाटी गाउँका स्थानीय बासिन्दाले उम्मेदवार घलेलाई सामूहिक रूपमा मागपत्र बुझाएका छन् । मागपत्रमा किन्ताङफेदी–रातमाटे सडक कालोपत्रे, मम्बल खोलामा पक्की पुल निर्माण, स्थानीय खेल मैदान निर्माण, मनेगङ–तैपीचेत–थङव्रा सडक स्तरोन्नति, पदमार्ग निर्माण तथा सडक बत्ती जडान गर्नुपर्ने लगायतका मागहरू राखेका छन् ।
मागपत्र बुझ्दै उम्मेदवार घलेले स्थानीय पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले दुर्गम बस्तीका नागरिकले भोग्दै आएका सडक सञ्जाल, शिक्षा, स्वास्थ्य र रोजगारीका समस्यालाई समाधान गर्न योजनाबद्ध रुपमा पहल गर्ने बताएका छन्
‘सीमान्तकृत र विकट क्षेत्रका नागरिकलाई राज्यको सेवा सुविधासँग जोड्नु नै हाम्रो मुख्य दायित्व हो, यहाँका सडक, पुल र खेलमैदान जस्ता आधारभूत संरचना विकासले मात्रै समग्र क्षेत्रको आर्थिक तथा सामाजिक रुपान्तरण सम्भव हुन्छ’, उनले भने ।
स्थानीयहरुले चुनावपछि पनि नियमित अनुगमन र कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकएसँगै धादिङ–२ मा चुनावी माहोल तातेको छ । उम्मेदवारहरू गाउँ–गाउँ पुगेर मतदाता भेटघाटमा व्यस्त छन् ।


स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
