





























धादिङ– धादिङबेसीमा सञ्चालन गरिएको ६ महिने कम्प्युटर सफ्टवेयर तालिमले युवाहरूमा सीप विकाससँगै आत्मनिर्भर बन्ने आशा जगाएको छ । प्रविधिसँग जोड्न र युवाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, सामाजिक विकास कार्यालय गजुरीले सञ्चालन गरेको तालिमको समापन समारोहमा सहभागीहरुले प्रविधिको युग भएका कारण प्रविधिको प्रयोगबाटै आयआर्जन गर्न सकिने बताएका हुन् ।
‘कुनै पनि जागिरका लागि कम्प्यूटर पहिलो आवश्यकता हो ।’ तालिममा सहभागी भएका कृष्टि श्रेष्ठ भन्छिन्– ‘६ महिनासम्म कम्प्यूटर सम्बन्धि धेरै खालका ज्ञान हासिल भयो । जागिर तथा अन्य काममा पनि यसले महत्वपूर्ण सहयोग मिल्ने अपेक्षा गरेका छौं । यो तालिम सञ्चालन गर्ने सामाजिक विकास कार्यालय गजुरीप्रति आभारी छौं ।’

तालिममा सिकेका ज्ञान व्यवहारमा लागू गर्ने सकुन्तला मगरले बताइन् । ‘६ महिनासम्म कम्पुटर सफ्टवेयरसम्बन्धि धेरै कुराहरु सिकियो । सिप सिकेर खेर जाने चिज होइन । कहीकतै काम लाग्छ । महिलाहरुका लागि त झनै ठूलो महत्व राख्दछ । यो तालिमले अन्य क्षेत्रमा काम गर्न जागिरे जीवन होस् वा आफ्नै व्यवसाय गर्न ठूलो सहयोग मिल्नेछ’ उनले भनिन् ।
तालिमले रोजगारीसङ्ग जोड्न सहयोग पुग्ने तालिममा सहभागी रहेका विपुल चेपाङले बताए । ‘अहिले प्रविधिको युग छ । जहाँ पनि कम्प्युटरको दक्षता चाहिन्छ । हामी सिमान्तकृतहरुका लागि अवसरहरु पनि आउँछन् । यो सिपले ती अवसरहरु प्राप्तिका लागि ठूलो सहयोग बन्नेछ’ उनले भने ।
तालिममा सहभागी भएकाहरुले तालिममा सीपको प्रयोग गरी आत्मनिर्भर बन्नेमा सामाजिक विकास कार्यालय विश्वस्त रहेको तालिम समापन समारोहका प्रमुख अतिथि समेत रहेका सामाजिक विकास कार्यालय गजुरीका प्रमुख रमेश घिमिरेले बताए ।

‘हामीले बाटो देखाउने हो । खानेकुरा दिए एक छाकलाई हुन्छ, सीप दिए जीन्दगी भरलाई । त्यसैले युवालाई प्रविधिसँग जोडेर आत्मनिर्भर बनाउने अभियानमा छौं’ उनले भने– ‘यो तालिम सफल पार्न हामी भन्दा तपाई प्रशिक्षार्थीहरुको ठूलो भूमिका रहन्छ । यो सिकेको सीप व्यवहारमा लागू गरेको दिन हामी सफल भएको अनुभुती गर्नेछौं । उज्वल भविष्यको तपाईहरुलाई शुभकामना र बधाई छ ।’
६ महिनादेखि संचालन रहेको तालिममा १५ जना सहभागी रहेका थिए ।


स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
