स्थानीयको पहलमा धादिङको पहरेभिर कोत्रेस्थित थोपल खोलामा पुल बन्दै

स्थानीयको पहलमा धादिङको पहरेभिर कोत्रेस्थित थोपल खोलामा पुल बन्दै

काठमाडौं- धादिङको नीलकण्ठ नगरपालिका अन्तर्गत थोपल खोलामा स्थानीयवासीको पहलमा पुल निर्माण सुरु गरिएको छ । लामो समयदेखि पुल निर्माणको माग गरिए पनि सम्बन्धित निकायबाट पुल निर्माण नभएपछि स्थानीयले आफै सहयोग संकलन गरी पहरेभिर कोत्रेस्थित थोपल खोलामा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ र १२ जोड्ने पक्की पुल निर्माण थालेका हुन् ।

Advertisement

नीलकण्ठ नगरपालिका लगायत अन्य सरोकारवाला निकायसँग थोपल खोलास्थित पहरेभिर–कोत्रे क्षेत्रमा पटक पटक पुल निर्माणको माग गरिएपनि अहिलेसम्म कुनै योजना परेको छैन । तर आवतजावतमा अति नै समस्या भएपछि सहयोग जुटाएर पुल बनाउन थालेको स्थानीय विष्णु श्रेष्ठले बताए । ‘निर्माण भइरहेको पुलका लागि हाल जग तथा मेसिनरी पर्खाल लगाउने काम भइरहेको छ । दुवैतर्फ जग बसाल्ने, खोलाको बीच भागमा पिल्लर राख्ने र माथि फलामको पाता राख्ने तयारी गरिएको छ’ उनले भने ।

‘पञ्चायत कालदेखि झोलुङ्गे पुल बनाउन सर्वे गरिएपनि अहिलेसम्म पुल बनेन । कतैबाट योजना नपरेपछि हामी आफैंले रकम जुटाएर काम सुरु गरेका हौं । प्राविधिक मूल्यांकन अनुसार पुल निर्माणका लागि करिब १५ लाख रुपैयाँ लागत लाग्ने अनुमान छ’ उनले भने,– ‘मैले पनि प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा निर्वाचन प्रहरीको रूपमा काम गर्दा पाएको तलब ४८ हजारमा २२ हजार थपेर ७० हजार रुपैयाँ सहयोग गरेको छु । अन्य स्थानीयले पनि आ–आफ्नो क्षमता अनुसार सहयोग गरिरहनु भएको छ ।’

‘स्थानीय अन्य दाजुभाई दिदिबहिनीहरुले पनि सकेको हाल्ने भनेका छन् । केहीले हालेका पनि छन् । बनाउदै जाँदा कतैबाट सहयोग जुट्ला स्थानीय सरकारले पनि हेर्ला भन्ने आश छ’ उनले भने ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ र १३ जोड्ने पहरेभिर कोत्रेमा निर्माणाधिन पुल ।

पुल निर्माणमा स्थानीयको सक्रियता बढेपछि सहयोगी हातहरु पनि बढेको स्थानीय होमनारायण श्रेष्ठ बताउँछन् । ‘सबैले सहगोग गर्छाैं भनिरहेका छन् । रसिद छाप्न दिएका छौं केही दिनबाट रकम संकलन दु्रत रुपमा अघि बढ्छ । विकास निर्माणको काम हो । पुल बने हामी स्थानीयहरुलाई नै सहयोग पुग्ने हो । सबैले सकेको सहयोग गरे चाँडै नै यो पुल बन्छ’ उनले भने ।

‘अहिले त तिन तहको सरकार छ । स्थानीय सरकारले पनि थोरै आर्थिक सहयोग गर्ला कि भन्ने आश छ’ उनले भने– ‘जनप्रतिनिधिहरुसँग कुराकानी भई रहेको छ । हाम्रै सेवामा रहेका उहाँहरुले पनि थोरधेरै सहयोग कसो नगर्नुहोला र ।’

 

पहरेभिर कोत्रेस्थित थोपल खोलामा पुल बन्ने भएपछि बुद्धसिंह तामाङले पनि ५ हजार सहयोग गरेका छन् । २०७२ सालको गोर्खा भुकम्पले आफ्नो थातथलो छाडेर विस्थापित भइ सालबोटेमा बस्दै आएका छन् । छरछिमेकी सबै मिलेर थालेको पुण्यको काममा हातेमालो गर्न सहयोग गरेको उनले बताए । ‘अहिले सामान किन्न आवश्यक परेर त्यति रकम सहयोग गरेँ । छरछिमेकमा अरुसँग पनि कुरा गर्दैछौं । सबैले मिलेर यो पुल बनाउने अभियानमा छौं । अझै थप सहयोग गर्ने र गराउने काममा छौं’ उनले भने ।

यो पुल बनेपछि नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का नानीझार, धन्सारपाखा, सालबोटे, दामगाडे र नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का पहरे चौतारा, माले बगर क्षेत्रका करिव ५ सय भन्दा बढी स्थानीयहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।

#थोपल_खोला_पुल

 

 

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट