





























काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई मुद्दा दायर गर्ने कि हाजिरी जमानीमा छाड्ने भन्ने विषयमा प्रहरीले परामर्श अघि बढाएको छ । सर्वोच्च अदालतले बुधबारभित्र अनुसन्धान सकेर मुद्दा दायर नभएमा उनीहरूलाई थुनामुक्त गर्न सोमबार परमादेश दिएको थियो । बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले उनीहरूलाई अब म्याद थप नगर्न परमादेश दिएको हो ।


आज मुद्दा दायर नभए ओली र लेखक दुवैलाई छाड्नुपर्ने हुन्छ । मुद्दा दायर गर्ने वा हाजिरी जमानीमा छाड्ने भन्ने विषयमा छलफल भई रहेको जनाइएको छ ।
ओली र लेखक गत १४ चैतमा पक्राउ परेका हुन्। उनीहरूको बयान पूरा भइसकेको छ। अनुसन्धान पूरा भएमा सरकारी वकिलले आजै अदालतमा मुद्दा दायर गर्न सक्ने र अनुसन्धान नटुंगिएकामा भने थुनाबाहिर राखेर थप अनुसन्धान गर्न सर्वोच्चले भनेको थियो।
बयान सम्पन्न भइसकेको, सोही मुद्दामा पक्राउ परेका सहसचिव छवि रिजाललाई हाजिरी जमानीमा छाडिएको, ओली र लेखक दुवै आशौचमा रहेको, ओली बिरामी रहेकाले अनुसन्धान छिटो टुंग्याउन सर्वोच्चले भनेको हो ।
आजै मुद्दा दायर भएमा अदालतको बयान र थुनछेकका कारण उनीहरू थप केही दिन थुनामा रहन सक्छन्। तर, अनुसन्धान नसकिएमा भने हाजिरी जमानीमा छाडेर प्रहरीले अनुसन्धान अघि बढाउनुपर्ने हुन्छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
