





























|Photo: bhuwan maharjan
काठमाडौं– धादिङमा जिल्ला स्तरीय अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । जिल्ला क्रिकेट संघले बैशाख ४ गतेदेखि ९ गतेसम्म सञ्चालन गर्ने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।
आयोजकले बुधबार पत्रकार सम्मेलन गरि खेल तालिका सार्वजनिक गरेको हो । बेनीघाट रोराङ गाउँपालिकाको विशालटार खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ८ पालिकाबीच प्रतिस्पर्धा हुनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा बेनीघाट रोराङ, त्रिपुरासुन्दरी, ज्वालामुखी र सिद्धलेक रहेका छन् भने समूह ‘बी’ मा नीलकण्ठ, धुनीबेशी, गजुरी, र गल्छी गाउँपालिका समावेश छन् । सार्वजनिक तालिका अनुसार उद्घाटन खेल बेनीघाट रोराङ र त्रिपुरासुन्दरीबीच हुनेछ । त्यस्तै दोस्रो खेलमा ज्वालामुखी र सिद्धलेकबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

जिल्ला क्रिकेट संघ धादिङका अध्यक्ष दिपेश कँडेलले क्रिकेट खेलमा धादिङलाई अब्बल बनाउन प्रतियोगिताको आयोजना गरिएको बताएका छन्। ‘छोटो समयमा नेपाली क्रिकेटले मारेको फड्को नेपालीहरूका लागि सुखद क्षण बनेको छ । यस्ता प्रतियोगिताले धादिङको क्रिकेट जगतलाई थप उचाइमा पुर्याउने अपेक्षा छ’ उनले भने ।
‘धादिङमा विभिन्न चरणमा हामीले क्रिकेट प्रतियोगिताको आयोजना गर्दै आएका छौ’ उनले भने- ‘त्यसले स्थानीय स्तरमा खेलाडी उत्पादनदेखि लिएर प्रदेश र राष्ट्रिय स्तरमा खेल्न सक्ने वातावरण सिर्जना गर्नेछ ।’
प्रतियोगिताका विजेताले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
