धादिङका पहिलो फोटोग्राफर महेन्द्र डल्लाकोटी सम्मानित

धादिङका पहिलो फोटोग्राफर महेन्द्र डल्लाकोटी सम्मानित

काठमाडौं– धादिङका पहिलो फोटोग्राफर महेन्द्र डल्लाकोटीलाई सम्मान गरिएको छ । ९९औं राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८३ को अवसर पारेर एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय फोटो पत्रकार समूह धादिङले डल्लाकोटीलाई सम्मान गरेको हो ।

Advertisement

डल्लाकोटी धादिङको फोटोग्राफी क्षेत्रको पहिलो फोटोग्राफर हुन् । उनले आफ्नो रहरले २०२२ सालदेखि फोटो खिच्दै आएको डल्लाकोटीले २०३२ सालबाट व्यावसायिक रुपमा फोटो खिच्न थालेको बताए । ‘२०३६ सालबाट टेण्डर हालेर गरिने सरकारी कामका फोटो खिच्न थालेँ । प्रायः जसो नागरिकता बनाउने फोटो खिचेको अनुभव छ । एकै दिन ५ हजारसम्म फोटो खिचेँ । त्यससँगै हिमाल पहाड, प्राकृतिक, साँस्कृतिक सम्पदाहरुको पनि फोटो खिचियो’ उनले भने– ‘फोटो खिच्नेहरुको घुइचो हुन्थ्यो । खिचेको फोटो हेरेर दंग हुदै म जस्तै मान्छे भनेर भन्ने गर्थें । खुवै ख्यालठट्टा गरिन्थ्यो ।’

धादिङको बेनीघाटका ८२ वर्षिय डल्लाकोटीको फोटोग्राफी क्षेत्रमा ६ दशक लामो अनुभव छ । अहिले पनि उनको छोराछोरी तथा नाता नातिनीले धादिङ लगायत विभिन्न जिल्लामा ६ वटा स्टुडियोहरु सञ्चालन गरिरहेका छन् । ‘अहिले डिजिटलको युग छ । प्रविधिको प्रयोगसँगै फोटोग्राफरले आफुलाई परिमार्जित गर्दै लैजाने हो भने अझै यस क्षेत्रमा भविष्य छ ।’ उनले भने– ‘फोटो खिच्न थालेको ६० वर्ष भएछ । फोटोग्राफरको रुपमा पहिलो पटक यो सम्मान पाएँ । तपाई पत्रकारहरु सबैलाई धन्यवाद । म सँग भएका पुराना यि दुवै क्यामेरा तपाईहरुलाई हस्तान्तरण गर्दछु । फोटोले सामाजिक रुपान्तरणसँगै इतिहास पनि बोल्छ हामीले जोगाउन सक्नुपर्छ ।’

फोटो पत्रकारितामा धादिङको इतिहास

विक्रम संवत् १९७९ सालमा दिर्घमान चित्रकार राजा महेन्द्र विर विक्रम शाहसँग यात्राको क्रममा धादिङको आँखुखोलामा बनाईएको धादिङको पहिलो झोलुङ्गे पुलको तस्वीर खिचिएको थियो । २०३४ सालमा गजुरीमा ग्रामिण विद्युत विस्तार कार्यक्रममा चित्रकारले खिचिएका फोटोहरु नै अहिले सम्म भेटिएका पुराना फोटोहरु हुन् ।

महेन्द्र डल्लाकोटीले २०३२ सालदेखि व्यवसायिक फोटोग्राफी गर्दै आएका छन् । धादिङ, गोर्खा, सिराहा लगायत विभिन्न जिल्ला पुगेर उनले फोटो खिचेका छन् । फोटोग्राफीको सुरुवात २०३१ सालबाटै भएपनि धादिङमा फोटो पत्रकारिताको सुरुवात भने २०५४ साल देखि भएको पाईन्छ । स्वर्गिय राजेन्द्र प्रताप शाहले २०५४ सालमा कान्तिपुरमा पहिलो पटक फोटो छापेका थिए । उनलाई एनएफपीजे धादिङले २०७५ सालमा जिल्लाको पहिलो फोटो पत्रकारको रुपमा सम्मान गरेको थियो ।

२०६२ भाद्र २० देखि २६ गते सम्म धादिङमा भएको आधुनिक फोटोग्राफी तालिमले धादिङका पत्रकारहरुलाई उत्साह थपेको पाइन्छ । त्यस पश्चात धादिङका फोटो पत्रकारिता सम्बन्धि थुप्रै तालिमहरु हुदै आएका छन् । पछिल्लो समय फोटो पत्रकारहरुको संख्या दिनानुदिन बढी रहेको छ । राष्ट्रिय फोटो पत्रकार समूह धादिङमा ४४ जना सदस्यहरु रहेको राष्ट्रिय फोटो पत्रकार समूह धादिङका अध्यक्ष मनिष दुवाडीले बताए ।

व्यवसायिक रुपमा फोटो खिचेरै राम्रो आम्दानी गरिरहनु भएका थुप्रै फोटो पत्रकारहरु हुनुहुन्छ । नयाँ पुस्ताका साथीहरु पनि जोडिने क्रम बढ्दै गइ रहेको छ । पुरानालाई सम्मान र नयाँ पुस्तालाई स्वागत गर्न राष्ट्रिय फोटो पत्रकार समूहले यस्ता कार्यक्रमको आयोजना गर्दै आएको अध्यक्ष दुवाडीले बताए ।

 

#पहिलो_फोटोग्राफर

#फोटो_पत्रकारितामा_धादिङको_इतिहास

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

खोजी गर्नुहोस

ताजा अपडेट