





























काठमाडौं– धादिङ अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली औपचारिक रूपमा सुरु गरिएको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले यस प्रणालीको उद्घाटन गर्दै प्रदेश सरकार स्वास्थ्य सेवा क्षेत्रमा पेपरलेस प्रणालीतर्फ अग्रसर रहेको बताए ।


मन्त्री थापाले ईएमआर प्रणालीले अस्पताल र सेवाग्राही दुवैलाई सहजता प्रदान गर्ने बताएका छन् । ‘सबै स्वास्थ्य सेवा डिजिटल माध्यममा अभिलेखीकरण हुँदा सेवा प्रवाह छिटो, मितव्ययी, प्रभावकारी सुशासन कायम हुन्छ । अस्पतालले दिने सेवालाई अझ चुस्त दुरुस्त बनाउनुहोस्, आवश्यक बजेट तथा उपकरणको व्यवस्था प्रदेश सरकारले गर्नेछ,’ उनले भने ।
उनले अस्पतालमा उपकरण र जनशक्तिको अभाव रहेको स्वीकार गर्दै आगामी आर्थिक वर्षमा ती आवश्यकताको परिपूर्ति गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले भने– ‘तत्काल डायलाइसिस मेसिन थप गर्ने र अस्पतालको नाममा जग्गा ल्याउने तथा आवश्यक भवन निर्माण गर्न बजेट विनियोजन गर्नेछौं ।’

त्यस्तै, बागमती प्रदेशका स्वास्थ्य सचिव डाक्टर सुमित्रा गौतमले ईएमआर प्रणालीले सेवा प्रवाह प्रभावकारी हुनेसँगै अस्पतालले गरेका कामको लेखाजोखा गर्न सहज हुने बताइन् । कागजी प्रक्रियाको झन्झट अन्त्य हुने, उपचारमा गुणस्तर कायम हुने, डेटा सुरक्षा र दीर्घकालिन अभिलेख हुने र सुशासन कायम भई सेवा प्रभावकारीसहितको निति निर्माणमा सहयोग पुग्ने उनको भनाई छ ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिकी अध्यक्ष राधिका सापकोटाले एक सय शैयाको अस्पताल सीमित भौतिक संरचनामा सञ्चालन गर्दा समस्या भइरहेको बताउँदै संरचना विस्तार, विशेषज्ञ सेवा थप र उपकरण व्यवस्थापनको आवश्यकता औंल्याएकी थिइन् ।

निमित्त अस्पताल निर्देशक त्रिभुवन चन्द्र झाले ईएमआर प्रणालीमार्फत बिरामीको टिकटिङ, बिलिङ, डाक्टरको उपलब्धता तथा औषधिसम्बन्धी विवरण सहजै प्राप्त गर्न सकिने बताए । ‘यस प्रणालीले बिरामीको विगतदेखि वर्तमानसम्मका स्वास्थ्य विवरण एकै ठाउँमा उपलब्ध गराउँछ, जसले कागजी प्रक्रियाको झन्झट अन्त्य गर्नेछ,’ उनले भने ।
ईएमआर प्रणाली लागू भएसँगै बिरामीको समय र खर्चमा कमी आउनुका साथै परीक्षणमा हुने दोहोरोपन अन्त्य हुनेछ । एकीकृत तथ्यांक संकलनले स्वास्थ्यसम्बन्धी नीति निर्माणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
#धादिङ_अस्पतालमा_ईएमआर_प्रणाली_सुरु

