





























काठमाडौं– जिल्ला प्रशासन कार्यालय धादिङ र जिल्ला हुलाक कार्यालयबिच सेवाग्राहीको घरमै राहदानी (पासपोर्ट) पुर्याउने औपचारिक सम्झौता भएको छ । जिल्लाभरका सबै स्थानमा हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी पुर्याउने गरी मंगलबार दुई कार्यालयबिच सम्झौता गरिएको हो ।


नेपाल सरकार मन्त्री परिषद्को २०८२ चैत १३ गते बसेको बैठकबाट शासकिय सुधारसम्बन्धि एक सय कार्यसूची सार्वजनिक गरेको थियो । सोही अनुसार सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले दुई सेवा प्रदायकविच मंगलबार सम्झौता गरिएको हो ।
बैशाख ७ गतेबाट बनाइएका सबै राहदानी सेवाग्राहीहरुको चाहना र आवश्यकता अनुसार घर घरमा पुर्याइने धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताए । ‘राहदानी आवेदन दिने क्रममा सेवाग्राहीले राहदानी कहाँ लिने भनेर भरेको आधारमा हुलाक सेवामार्फत घरमै डेलिभरी दिने व्यवस्था मिलाइएको छ । जिल्ला प्रशासन कार्यालय वा घरमै नागरिकता लिन सकिने प्रावधान रहेको छ’ उनले भने ।
जिल्लाका विकट क्षेत्रहरूबाट मोटो रकम खर्चिएर पासपोर्ट लिन सदरमुकामसम्म आउनुपर्ने बाध्यता हट्ने उनले बताए । ‘राहदानी बनाउन बायोमेट्रिकका लागि सेवाग्राही प्रशासन कार्यालय आउनै पर्ने भए पनि, राहदानी तयार भइसकेपछि भने घरमै पुर्याउँदा उनीहरूको समय र खर्च बचत हुन्छ । अहिले तत्कालका लागि स्थायी ठेगाना र जिल्ला प्रसाशनबाट लिने व्यवस्था छ । अन्तरपालिकामा पनि दिने व्यवस्था आए त्यो पनि गर्न सकिन्छ’ उनले भने ।
‘नागरिकलाई प्रवाह गर्ने अन्य सेवाहरु पनि घरदैलोसम्म पुर्याउन यो सेवाबाट सिकाइ हुन्छ । नागरिकता, राष्ट्रिय परिचय पत्र लगायत अन्य सेवाहरु पनि घरदैलोमा दिन सक्ने अवस्था रहन सक्छ । यस्ता सेवा घरदैलोमै पाएबापत सेवाग्राहीले अतिरिक्त शुल्क तिर्नु पर्दैन’ उनले भने– ‘अहिलेको माग अनुसार घरदैलोमा सेवा दिन कर्मचारी पर्याप्त छन् । माग बढी भएमा जनशक्ति थप गर्नु पर्ने पनि हुन सक्छ । नागरिकलाई सहज र घरदैलोमै सेवा दिन हामी तत्पर छौं ।’
जिल्ला हुलाक कार्यालय धादिङका हुलाक अधिकृत नारायण प्रसाद पोखरेलले जिल्लाको सदरमुकाममा सोहि दिन, नीलकण्ठ नगरपालिकामा तीन दिन र अन्य स्थानीय तहहरुमा डाँक ढुवानी तालिका बमोजिम पालिका हुलाक कार्यालयमा पुर्याई सक्दो चाँडो सेवाग्राहीको हातमा पार्ने बताए । ‘नीलकण्ठ नगरपालिका क्षेत्रभित्र आजैदेखि र जिल्लाका अन्य पालिकाहरुमा जेठ १ गतेदेखि राहदानी वितरण सुरु गर्छाैं’ उनले भने ।
#धादिङमा_सेवाग्राहीको_घरमै_राहदानी

