





























काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिका–३ धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसले प्रथम अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको छ । वैशाख १८ र १९ गते हुने सम्मेलनको तयारी पुरा भएको पत्रकार सम्मेलन गरि क्याम्पसले जानकारी दिएको छ ।


पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख डा. मुरारी अधिकारी र सहायक क्याम्पस प्रमुख युवराज सुवेदीले सम्मेलनको उद्देश्य, कार्यक्रम र अपेक्षित उपलब्धिबारे जानकारी दिएका छन् । वैशाख १८ गते बिहान ९ बजे सिटीहलमा औपचारिक उद्घाटन गरि दुई दिनसम्म सम्मेलन चल्ने क्याम्पस प्रमुख डाक्टर मुरारी अधिकारीले जानकारी दिए ।
‘यो अन्तर्राष्ट्रिय सम्मेलनले क्याम्पसमा अनुसन्धानमूलक संस्कृतिको विकास गर्न सहयोग पुग्नेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूसँगको अन्तरक्रियाबाट ज्ञान, अनुभव र अभ्यासको आदान–प्रदान हुने भएकाले यसले समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने विश्वास छ’ उनले भने ।
त्यसैगरी, सहायक क्याम्पस प्रमुख सुवेदीले सम्मेलनले विद्यार्थी र शिक्षकलाई विश्वस्तरीय शैक्षिक बहससँग जोड्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताए । उनले भने– ‘यसले शैक्षिक नेटवर्क विस्तार, सहकार्यको वातावरण निर्माण तथा अन्तर्राष्ट्रिय स्तरमा क्याम्पसको पहिचान स्थापित गर्न टेवा पुग्नेछ ।’
सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति दिपक अर्याल, विश्वविद्यालय अनुदान आयोगका सचिव डाक्टर ज्ञानबहादुर थापा र त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डाक्टर केदार रिजाल, वन विज्ञान अध्ययन संकायका डिन डाक्टर ठाकुर सिलवालको सहभागिता रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका डिन डाक्टर वेदराज आचार्य, बाणिज्य तथा व्यवस्थापन संकायका डिन डाक्टर . एस.के. बराल, काठमाडौं विश्वविद्यालय शिक्षा संकायका डिन डा. बालचन्द्र लुइटेल तथा युलिएन्स स्कूलका शैक्षिक विभाग प्रमुख एवं भिजिटिङ फ्याकल्टी डा. मेदिन लामिछाने ‘की–नोट स्पीकर’ का रूपमा रहने आयोजकले जनाएको छ ।
सम्मेलनअन्तर्गत ९ वटा विषयमा विषयगत छलफल सत्र सञ्चालन गरिनेछ, जसमा नेपालसहित भारत, नर्वे, हङकङ, अमेरिका, जापान र ग्रिसका प्राध्यापकहरूको सहभागिता रहनेछ । विभिन्न सत्रहरूमा डाक्टर भोजराज अर्याल, डाक्टर पेषल खनाल, डाक्टर लिला न्याइच्याइ, डाक्टर रामप्रसाद पौडेल, प्राध्यापक नरोत्तम अर्याल, रविना शर्मा, डाक्टर योगेन्द्र अधिकारी र डाक्टर मेदिन लामिछानेले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।
यसै अवसरमा प्राध्यापक, शिक्षक र विद्यार्थीहरूले तयार पारेका २० वटा अनुसन्धान प्रतिवेदन पनि प्रस्तुत गरिनेछ । सम्मेलनमा देशभरका विभिन्न क्याम्पस तथा विद्यालयका प्राध्यापक, शिक्षक, विद्यार्थी र क्याम्पसका ६० जना विद्यार्थी गरी २०० भन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ ।
सम्मेलन सफल बनाउन क्याम्पसले विभिन्न उपसमितिहरू गठन गरी तयारी तीव्र पारेको छ । धादिङका स्थानीय तह, धादिङ उद्योग वाणिज्य संघ तथा विभिन्न निर्माण व्यवसायीहरूको सहयोग रहने आयोजकले जानकारी दिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
