कल्याण माविले मनायो ६९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

  • २०८३ बैशाख २०, आईतबार (१ महिना अघि)
  • ३४ पटक पढिएको
कल्याण माविले मनायो ६९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

धादिङ– धादिङको गङ्गाजमुना गाउँपालिका- ३ गुम्दीमा अवस्थित कल्याण माध्यमिक विद्यालयले ६९औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाएको छ। वडा नम्बर ३ को प्राविधिक सहयोगमा विद्यालयले एक भव्य समारोहको बीच विविध कार्यक्रमको आयोजना गरी मनाएको हो ।

वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा वडास्तरीय हस्तलेखन प्रतियोगिता, अंग्रेजी श्रुतिलेखन प्रतियोगिता, विद्यालय अन्तरसदनात्मक बेलुन फुटाई, गुच्चा चम्चा दौड, म्युजिकल चिअर, मौलिक गीत तथा नृत्य प्रतियोगिता, भाला र शटपुट लगायत प्रतियोगिता गरिएको थियो ।

कार्यक्रमकै अवसरमा संस्थापकहरू, पूर्व शिक्षकहरूलाई  सम्मान तथा मायाको चिनो प्रदान गरिएको शुष्मा घलेले जानकारी दिइन्। वार्षिक नतिजा २०८२ को पुरस्कार समेत वितरण गरिएको छ ।

स्थानीय टेकबहादुर गुरुङको संयोजकत्वमा करिब १ लाख ५० हजार बराबरको स्पिकर विद्यालयलाई प्रदान गरिएको छ। स्पिकर प्रदान गर्ने गुरुङको समूहलाई विद्यालय परिवारले मायाको चिन प्रदान गरेको छ।

विद्यालयका प्रधानाध्यापक गौरीमाया तामाङले विद्यालयको वर्तमान अवस्था, सामुदायिक विद्यालयले झेल्नुपरेका समस्या तथा भावी योजनाका विषयमा जानकारी गराइन्। वडा नम्बर ४ का वडा अध्यक्ष प्रेम घलेले घर आँगनको विद्यालयलाई राम्रो बनाउन सके शैक्षिक गुणस्तरसँगै विकास तथा सामाजिक रूपान्तरणमा ठूलो टेवा पुग्ने बताए ।

त्यस्तै, वडा नम्बर ३ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गुरुङले शैक्षिक सुधार तथा गुणस्तरीय शिक्षाका लागि वडा र पालिकाले बजेट विनियोजन गर्दै आएको बताए । ‘दिनानुदिन ग्रामीण क्षेत्रमा विद्यार्थीको सङ्ख्या घट्दो छ । सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन र गुणस्तरीय शिक्षा प्रदान गर्न चुनौती थपिरहेको छ। विद्यालयलाई राम्रो र गुणस्तरयुक्त शिक्षा प्रदान गर्ने वातावरण बनाउन शिक्षक, अभिभावक र स्थानीय सरकार लागिरहेको छ । शैक्षिक सुधार र गुणस्तरीय शिक्षामा हामी चुक्ने छैनौं’ उनले भने ।

त्यसैगरी, वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रमको सम्बोधन गर्दै वडा नम्बर ५ का वडाध्यक्ष एवं गङ्गाजमुना गाउँपालिकाका प्रवक्ता कुमारबहादुर अधिकारीले पालिकाले विशेष योजना बनाएर शैक्षिक उन्नयनका क्षेत्रमा काम गरिरहेको बताए।

‘गाउँका सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन ठूलो चुनौती छ । पालिकाले सामुदायिक विद्यालयहरूमा लगानी गरिरहेको छ तर विद्यार्थीहरू सहर केन्द्रित बनेका छन्,’ उनले भने- ‘गुणस्तरीय र व्यवहारिक शिक्षा आजको आवश्यकता हो। शिक्षकहरूलाई तालिम दिइ सक्षम बनाउने र प्रविधिको प्रयोगबाट गुणस्तरीय शिक्षा प्रदान गर्न प्रयासरत छौँ। सबैको साथ सहयोग रहे गाउँकै सामुदायिक विद्यालयमा पनि गुणस्तरीय शिक्षा दिन  सकिन्छ । ‘

 

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट