





























काठमाडौं– एक सातादेखि राष्ट्रिय परिचय पत्र सम्बन्धि सेवा अवरुद्ध बनेकोे छ । बैशाख २१ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NIDMIS) मा समस्या आएपछि राष्ट्रिय परिचय पत्रसम्बन्धि सेवा अवरुद्ध बनेको हो । सूचना प्रणालीमा देखिएको समस्याका कारण बैशाख २१ र २२ गते आउने जाने गरेपनि २३ गतेबाट भने सेवा ठप्पै बनेको हो ।


गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचय पत्र सम्बन्धि सेवा अवरुद्ध रहेको सूचना प्रकाशन गरि सेवा अवरुद्ध रहेको जानकारी दिएको हो ।

सूचना प्रणालीमा समस्या भएपछि देशैभर राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवाहरु प्रभावित बनेका छन् । राष्ट्रिय परिचय पत्र विवरण सच्याउने सेवा, जन्मदर्ता गर्दाका वखत राष्ट्रिय परिचय नम्बर प्राप्त NIN Generate हुने सेवा, सामाजिक सुरक्षा भत्ता परिचय पत्र नविकरण गर्दा Biometric रुजु हुने सेवा, राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणाली NIDMIS सँग अन्तरआवद्धता भएका अन्य सार्वजनिक सेवाहरु अवरुद्ध बनेका छन् ।

सूचना प्रणालीमा समस्या भएपछि बनेर आएका कार्डहरु वितरण बाहेकका अन्य सेवाहरु ठप्पै रहेका छन् । धादिङमा मात्रै करिव ८० हजार भन्दा बढी कार्डहरु वितरण गर्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ । राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NIDMIS) मा भएको समस्याको मर्मत कार्य भइ रहेको जनाइएको छ ।

