बालमैत्री वडा घोषणाका लागि नीलकण्ठ–१२ मा अभिमुखीकरण

बालमैत्री वडा घोषणाका लागि नीलकण्ठ–१२ मा अभिमुखीकरण

काठमाडौं- नीलकण्ठ नगरपालिकाले बालमैत्री वडा घोषणा गर्न वडा तहमा अभिमूखिकरण कार्यक्रम थालेको छ । बालमैत्री वडा घोषणा गर्ने अभियान अन्तर्गत बुधबार नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा बालमैत्री स्थानीय शासन वडा समिति, वडा स्तरीय बाल अधिकार समिति, वडा स्तरीय बाल सञ्जाल एवम् सरोकारवालाहरुको भूमिका र उत्तरदायित्व लगायतका विषयमा अभिमूखिकरण गरिएको हो ।

Advertisement

बालमैत्री स्थानीय शासन, यसका सूचकहरु, तिनीहरुको कार्यान्वयन चरण, तथा बालमैत्री वडा घोषणाका प्रक्रिया तथा सरोकारवाला निकायहरुको काम कर्तव्य अधिकारका विषयमा लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका बालमैत्री शासन सहजकर्ता प्रशिक्षक दामोदर अर्यालले सहजीकरण गरेका थिए । संयुक्त राष्ट्रसंघबाट पारित भएको अन्तर्राष्ट्रिय बाल अधिकार महासन्धिको मूल मर्मअनुरूप तय गरिएका बाल अधिकारका चार क्षेत्र र संस्थागत विकास समेतका ५१ सूचकमा आधारित भई हरेक स्थानीय तहले उपलब्धि हासिल गर्न सक्ने हो भने समग्र बालबालिकाको उज्ज्वल भविष्यसँगै नेपाली समाजको समेत रूपान्तरण हुने उनले बताए ।

 

नीलकण्ठ नगरपालिका वडा नम्बर १२ ले बालमैत्री स्थानीय शासनको मापदण्ड पुरा गर्नका लागि आवश्यक संरचना, नीति तथा कार्यक्रम सञ्चालन गर्दै आएको वडा अध्यक्ष धर्मराज भण्डारी (राजकुमार) ले बताए । ‘बालबालिकाको अधिकार सुनिश्चित गर्नु हाम्रो दायित्व हो । वडा तहमा बालमैत्री समिति गठन, बाल क्लबको सक्रियता, स्वास्थ्य तथा शिक्षामा पहुँच विस्तार, बालश्रम न्यूनीकरण, बाल हिंसा विरुद्ध जनचेतना कार्यक्रम र बालबालिकाका लागि सुरक्षित तथा अनुकूल वातावरण निर्माणमा विशेष ध्यान दिदैँ आएका छौं’ उनले भने ।

अन्य प्राथमिक एजेण्डाहरु जस्तै बालमैत्री स्थानीय शासनलाई पनि एक महत्वपूर्ण क्षेत्रको रुप लिएर काम गर्दै आएको अध्यक्ष भण्डारीले बताए । ‘बालमैत्री घोषणा केवल कागजी प्रक्रिया होइन, यो व्यवहारमा लागु भएर मात्र सार्थक हुन्छ । त्यसैले वडामा सबै सहभागी, उत्तरदायी र दिगो पहलमार्फत यस अभियानलाई सफल बनाउन अनुरोध छ’ उनले भने ।

नीलकण्ठ नगरपालिकाले आयोजना गरेको अभिमूखिकरण कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले बालमैत्री वडा घोषणाका लागि सहकार्य तथा समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बालमैत्री वडा घोषणाका लागि पुरा गर्नुपर्ने सूचकहरु प्राप्तिका लागि स्वास्थ्य तथा शिक्षामा पहुँच विस्तार, बालश्रम न्यूनीकरण, बाल हिंसा अन्त्य, बालबालिकाका लागि सुरक्षित तथा अनुकूल वातावरण निर्माण गर्न पहल गर्ने बताएका छन् ।

बालमैत्री घोषणा केवल कागजी प्रक्रिया होइन, यो व्यवहारमा लागु भए मात्र सार्थक हुन्छ । त्यसैले सबैको सहभागीता, उत्तरदायी र दिगो पहलमार्फत यस अभियानलाई सफल बनाउन सकिने उनीहरुले बताएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट