धादिङमा नृसिंहधाम पुरुषोत्तम महा–महोत्सव सुरु

धादिङमा नृसिंहधाम पुरुषोत्तम महा–महोत्सव सुरु

|Photo: Dilip shrestha

काठमाडौं- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ स्थित बुढीगण्डकी र नेत्रावती नदीको संगमस्थलमा नृसिंहधाम पुरुषोत्तम महा–महोत्सव सुरु भएको छ । वैदिक सनातन परम्परा अनुसार भगवान् नृसिंहदेवका १२ प्रमुख पीठमध्ये नेपालमा रहेको एकमात्र पीठका रूपमा परिचित नृसिंहधाममा पुरुषोत्तम महिनाको अवसर पारेर एक महिने महोत्सव शुक्रबारदेखि सुरु गरिएको हो ।

Advertisement

स्कन्द र वराह पुराणमा समेत उल्लेखित नृसिंहधाम भगवान् नृसिंहदेव प्रकट भई दिव्यलिला गरेको पवित्र भूमिका रुपमा परिचित छ । परापूर्वकालदेखि नृसिंहधाम क्षेत्रमा विशेष धार्मिक महोत्सव गरिदै आएको पिठाधिश् डाक्टर श्रीवास कृष्णदास ब्रह्मचारीले बताए । ‘विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको १०८ तीर्थयज्ञ कार्यक्रमको पूर्णआहुति समेत पुरुषोत्तम महिनामा नृसिंहधाममा गरिनेछ । गोत्र अनुसार बनेका २८ वटा हवन कुण्डमा गोत्र अनुसारका विशेष पूजा, हवन तथा धार्मिक अनुष्ठान गरिनेछन्’ उनले भने ।

नृसिंहधाम क्षेत्रमा उत्खननका क्रममा सिक्का, इँटा र ढुङ्गा जस्ता प्राचिनकालका अवशेषहरु भेटिएकोे पिठाधिश् ब्रह्मचारीले बताए । ‘पुरातात्विक विभागले पनि अनुसन्धान गर्दै आएको छ । नृसिंहधाम यहाँका स्थानीयहरुले २५ वर्ष अघि पनि पुर्ननिर्माण गरेका थिए’ उनले भने– ‘ नृसिंहधाम २०७२ सालको गोर्खा भुकम्पले भत्किएपछि करिव साढे १५ करोडको लगानीमा हाल निर्माण भई रहेको छ । त्रिपुरासुन्दरी गाउँपालिका, छिमेकी पालिकाहरु तथा दानदक्षिणामार्फत उठेका रकमहरुबाट पुर्ननिर्माण भइ रहेको छ’ उनले भने ।

बन्दै गरेको नृसिंहधाम बुढीगण्डकी जलविधुत आयोजना भित्र पर्ने भन्दै सांस्कृतिक धरोहरका रुपमा रहेको धाम जोगाउन बागती प्रदेश सरकारका मूख्य मन्त्री इन्द्र बहादुर बानियाँलाई स्थानीयले आग्रह गरेका छन् । पानीमूनि भएपनि संरक्षण गरि ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्पदाको रुपमा अघि बढाउन उनीहरुले अनुरोध गरेका हुन् ।

एक महिनासम्म चल्ने महा–महोत्सवमा ईश्वरकृष्ण महाराज, पिठाधिश् डाक्टर श्रीवास कृष्णदास ब्रह्मचारी, राधिका दास लगायतले प्रवचन दिने कार्यक्रम रहेको छ । महोत्सव अवधिभर २० लाख भक्तजनले अवलोकन तथा दर्शन गर्ने अनुमान गरिएको आयोजनकले जनाएको छ ।महोत्सव सुरु हुनुअघि बाजागाजा सहित कलशयात्रा गरिएको थियो । शुक्रबारदेखि सुरु भएको यो महोत्सव जेठ महिनाभरि चल्नेछ ।

नृसिंहधाम बुढीगण्डकी जलाशयभित्रको ऐतिहासिक धार्मिक स्थल बन्छः मूख्यमन्त्री बानियाँ

बागती प्रदेश सरकारका मूख्य मन्त्री इन्द्र बहादुर बानियाँले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ स्थित बुढीगण्डकी र नेत्रावती नदीको संगमस्थलमा रहेको नृसिंहधाम बुढीगण्डकी जलविधुत आयोजना जलाशय भित्र पर्यापर्यटन तथा धार्मिक स्थल बन्ने बताएका छन् । एक महिने महा–महोत्सवको उद्घाटन समारोहको सम्बोधन गर्दै मूख्यमन्त्री बानियाँले सरकारले लगानी गरिरहेको नृसिंहधामलाई जलाशयभित्र सिसामा राखेर लिफ्टसहितको ऐतिहासिक धार्मिक स्थल बनाउन पहल गर्ने बताएका हुन् ।

‘नृसिंहधाम नेपालको उर्जासँग जोडिएको स्थल हो । मानव सभ्यतालाई उर्जा दिने नृसिंहधाम उर्जा उत्पादनसँगै बागमती प्रदेशको प्राचिन सभ्यता, संस्कार सत्य र मर्यादासँग जोडेर जलाशयभित्रको धार्मिक स्थल बन्नेछ’ उनले भने ।

मूख्य मन्त्री बानियाँले नृसिंहधाम संरक्षण तथा प्रवर्धनका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने बताए । आउँदो निति कार्यक्रम तथा बजेटमा बहुवर्षे योजना बनाई डिपिआर गरेर उर्जा उत्पादन गर्दा आध्यात्मिक स्थलको रुपमा व्यवस्थित गरि पर्यटन प्रवर्धन, जलाशयभित्र पर्यापर्यटनसँगै धार्मिक जोडेर अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट