धादिङमा ५१ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

  • २०८३ जेष्ठ १, शुक्रबार (२ हप्ता अघि)
  • २४ पटक पढिएको
धादिङमा ५१ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ–  फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा अवैध लागुपदार्थ अफिम र हतियार बरामद गरेको छ । दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२, होवाङबाट ५१ किलो १ सय ८० ग्राम शुद्ध अफिम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले बताए ।

अफिम र अवैध भरुवा बन्दुकसहित सोही ठाउँ बस्ने ३५ वर्षीय वीर बहादुर तामाङलाई पक्राउ गरिएको पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । प्रतिवादी खोज्ने क्रममा लागुऔषधको ठूलो कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले तामाङको घरमा खानतलासी गरेको थियो ।

प्रहरी नायव उपरीक्षक सुरज कार्कीको कमाण्डमा खटिएको टोलीले तामाङको घर र गोठमा छापा मारेको थियो ।खानतलासीका क्रममा बाख्रा बाँध्ने गोठभित्र लुकाएको अवस्थामा ४ फिट ६ इन्च लामो एक थान भरुवा बन्दुक र दुई थान डिजिटल तराजु फेला परेको थियो । त्यसैगरी, तामाङ सुत्ने कोठाको ओछ्यान नजिकै पाँचवटा प्लास्टिकका बाल्टीमा भरिएको अवस्थामा अफिम जस्तो देखिने कालो लेदो पदार्थ फेला परेको प्रहरी नायब उपरीक्षक दाहालले बताए ।

पक्राउ परेका तामाङ यसअघि पनि लागुऔषध मुद्दामा संलग्न रही फरार रहँदै आएका प्रतिवादी हुन् । बरामद लागुऔषध र हतियारसहित उनलाई इलाका प्रहरी कार्यालय गजुरीमा राखी लागुऔषध र अवैध हातहतियार खरखजाना सम्बन्धी मुद्दा दर्ता गरिएको छ । थप अनुसन्धान र कानूनी प्रक्रियाका लागि जिल्ला अदालत धादिङबाट म्याद थप गरी उनलाई हिरासतमा राखिएको छ ।

प्रहरीले होवाङबाटै अन्य दुई थान भरुवा बन्दुकसहित २८ वर्षीय विराज तामाङ र सानोकान्छा तामाङलाई पनि आ–आफ्नै घरबाट पक्राउ गरी थप कारबाही अघि बढाएको छ । दुबै जनालाई आ–आफ्नै घरबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक दाहालले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट