





























काठमाडौं– नेपाली राष्ट्रिय महिला भलिबल टिमको नयाँ कप्तानमा निरुता ठगुन्ना नियुक्त भएकी छिन् । नेपाल भलिबल संघको शुक्रबार बसेको ६९औं कार्यसमितिको बैठकले निरुतालाई कप्तान नियुक्त गरेको हो ।
यही जेठ ८ गतेदेखि घरेलु कोर्टमा आयोजना हुने काभा महिला भलिबल च्याम्पियनसिपमा २८ वर्षीया निरुताले नेपालको कप्तानी सम्हाल्नेछिन् । नेपाल एपीएफ क्लबबाट खेल्दै आएकी निरुतासँग फ्रेन्चाइज भलिबलको कप्तानी गरेको अनुभव छ । उनले एभरेष्ट महिला भलिबल लिगमा लगातार दुई सिजन मधेश युनाइटेडको कप्तानी गरेकी थिइन् ।
सन् २०१९ मा बंगलादेशको ढाकामा भएको एभिसी एसियन महिला सेन्ट्रल जोन च्याम्पियनसिपमा पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएकी निरुताले डेब्यु प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । त्यसयता एभिसी एसियन सेन्ट्रल जोनको दोस्रो संस्करण बाहेक उनले लगातार नेपालको लागि अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्दै आएकी छिन् ।
दार्चुलाबाट काठमाडौं आएर सुरुमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट भलिबल खेल्न सुरु गरेकी निरुताले काभा क्लब च्याम्पियनसिपमा पुलिसबाट खेलेपछि नेपालको तीनवटै विभागीय टोलीबाट प्रतिनिधित्व गरिसकेकी छन् ।
यसअघि नेपाली राष्ट्रिय महिला भलिबलको कप्तान अरुणा शाही थिइन् ।

