धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

  • २०८३ जेष्ठ २३, शनिबार (५९ सेकेण्ड अघि)
  • ९ पटक पढिएको
धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

धादिङ– विश्व वातावरण दिवस २०२६ को अवसरमा धादिङ जिल्लाको गङ्गाजमुना र खनियाँबास गाउँपालिकामा कृषक समूहस्तरीय हाजिरीजवाफ प्रतियोगिता गरिएको छ । वातावरण संरक्षण, जलवायु परिवर्तन र दिगो कृषि अभ्यास सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

गङ्गाजमुना गाउँपालिका-७ स्थित लामोपुलमा आयोजित प्रतियोगितामा प्रगतिशील पिप्ले कृषक समूह प्रथम, प्रगतिशील कृषक समूह (गलाने) द्वितीय तथा भविष्य उज्ज्वल कृषक समूह तृतीय भएका छन् । चक्रदेवी कृषक समूह र रचनाशील कृषक समूहले समेत सहभागिता जनाएका थिए। कार्यक्रममा ५५ महिला र ५ पुरुष गरी कुल ६० जनाको सहभागिता रहेको थियो।

त्यसैगरी खनियाँबास गाउँपालिका-२ मा सोही अवसरमा आयोजित कृषक समूहस्तरीय हाजिरीजवाफ प्रतियोगितामा पहिरोडिल सामुदायिक संस्था प्रथम भएको छ । न्यान्चो स्वावलम्बी महिला कृषक समूह तथा कोखिम कृषि तथा पशुपन्छी कृषक समूह संयुक्त रूपमा द्वितीय, जागरण सामुदायिक संस्था र मिलन सामुदायिक संस्था संयुक्त रूपमा तृतीय भएका छन् । ढिकी ओडार सामुदायिक संस्थाले सान्त्वना भएको छ ।

उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढीकरण परियोजना अन्तर्गत ‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने नाराको  विश्व वातावरण दिवस–२०८३ विशेष कार्यक्रम प्रयास नेपाल धादिङ र आड्रा नेपालको सहयोगमा सम्पन्न भएको प्रयास नेपाल धादिङका लैंगिक सहायक शर्मिला गुरुङले जानकारी दिइन् ।

कार्यक्रममा सहभागी कृषकहरूले वातावरण संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा दिगो कृषि अभ्याससम्बन्धी ज्ञान साथै आपसी सिकाइ र अनुभव आदानप्रदान गरेका छन् । सहभागीहरूले आगामी दिनमा पनि यस्ता ज्ञानमूलक तथा प्रतिस्पर्धात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन्।

विश्व वातावरण दिवसको अवसरमा आयोजित यी कार्यक्रमहरूले स्थानीय समुदायमा वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै जलवायु परिवर्तनका चुनौती सामना गर्न कृषकहरूलाई थप सक्षम बनाउन महत्वपूर्ण योगदान पुर्याएको प्रयास नेपाल धादिङका पशु प्राविधिक रुपेश तामाङले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट