शान्ति सुरक्षा, सुशासन र नागरिकमैत्री सेवामा जोड दिनेछौँ: प्रजिअ पाण्डे

  • २०८३ जेष्ठ २६, मंगलबार (२ मिनेट अघि)
  • ७ पटक पढिएको
शान्ति सुरक्षा, सुशासन र नागरिकमैत्री सेवामा जोड दिनेछौँ: प्रजिअ पाण्डे

धादिङ– धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले जिल्लामा शान्ति सुरक्षा, सुशासन र नागरिकमैत्री सेवालाई प्राथमिकता राखेर काम गर्ने बताएकी छन् ।

धादिङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आएकी पाण्डेले पत्रकार भेटघाट कार्यक्रममा सरकारी सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउँदै जिल्लाको समग्र प्रशासनलाई चुस्त–दुरुस्त रूपमा अघि बढाउने बताएकी हुन् ।

‘उत्तरी धादिङको गणेश हिमालदेखि दक्षिणी धादिङको महाभारत क्षेत्र र देशकै लाइफलाइन मानिने दुई ठूला राजमार्गहरूसँग जोडिएको धादिङमा अवसर र चुनौती रहेको छ । ढुङ्गा गिटी बालुवाका सवालहरू उस्तै छन्ब । धादिङलाई शान्ति सुरक्षा र सुशासनयुक्त बनाउने र आएका समस्या तथा सवाललाई सबैसँग सहकार्य गरेर निकास निकाल्नेछौँ’उनले भनिन् ।

हिमाल पहाड तराई तिनै भूभाग समेटिएको धादिङ र दुई ठूला राजमार्ग रहेकाले जिल्लाको भौगोलिक संवेदनशीलता, सडक दुर्घटना तथा प्राकृतिक प्रकोप जस्ता जोखिमबाट हुने क्षेति कम गर्न विशेष प्राथमिकतामा राखेर काम गर्ने उनले बताइन्।

पाण्डेले सेवा प्रवाहमा पूर्ण पारदर्शिता कायम गर्दै भ्रष्टाचारमुक्त, निष्पक्ष र जिम्मेवार प्रशासन निर्माणमा सबै सरोकारवाला निकायहरूसँग समन्वय गरेर अघि बढ्नेमा जोड दिइन् । जनताले सरकारी कार्यालयबाट पाउने सेवामा कुनै पनि प्रकारको सास्ती भोग्न नपरोस् भन्नेमा प्रशासन चनाखो रहने उनको भनाइ छ ।

जिल्लाको समग्र विकास, विकृति विसंगतिको उजागर र सुशासन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने पाण्डेले बताइन् । उनले जिल्लाका क्रियाशील पत्रकारहरूलाई प्रशासनको काममा रचनात्मक सुझाव, निरन्तर सहयोग र सहकार्यका लागि आग्रह समेत गरेकी छन्।

कार्यक्रममा धादिङका पत्रकारहरूले जिल्लाको समसामयिक प्रशासनिक अवस्था, शान्ति सुरक्षाको चुनौती, राजमार्ग लगायत ग्रामीण सडकहरूमा हुने दुर्घटना र न्यूनीकरण, प्राकृतिक प्रकोप त्यसको क्षति र पूर्व तयारी, विकास निर्माणमा भइरहेका ढिलासुस्ती तथा सार्वजनिक सेवा प्रवाहलाई अझै जनमुखी बनाउनुपर्ने लगायतका विषयमा  प्रमुख जिल्ला अधिकारी पाण्डेलाई ध्यानाकर्षण गराएका थिए।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट