धादिङ– माध्यामिक शिक्षा परिक्षा (एसइई) परीक्षामा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरुलाई सम्मान गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङले २४औँ जिल्ला परिषदको अवसरमा एसइईमा ४ जीपीए ल्याएका विद्यार्थीहरुलाई सम्मान गरेको हो ।


सम्मानित हुनेहरुमा नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका विद्यार्थीहरु छात्रा विपिसा सुवेदी, नविना श्रेष्ठ, दिप्सन छत्कुली र प्रशंसा गुरुङ रहेका छन् । त्यस्तै, आदर्श माध्यामिक विद्यालयका विद्यार्थीहरु आइन्स्टाइन पाण्डे र अनिरुद्र सिंह बस्नेतलाई सम्मान गरिएको गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका अध्यक्ष हरि सिलवालले बताए ।
नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङको २४औँ जिल्ला परिषद तथा सम्मान कार्यक्रमको सम्बोधन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव प्रकाश खनालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकले अझै भूमिका खेल्नुपर्ने बताए । ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा राम्रो नतिजा ल्याउन विद्यार्थी, शिक्षक, अभिभावकको राम्रो समन्व्य हुनु पर्छ । पछिल्लो समय सामुदायिक विद्यालयहरुले ल्याएको नतिजा निकै उत्कृष्ठ छ । यो पनि शैक्षिक क्षेत्रमा आएको एउटा राम्रो उपलब्धि र सुधार हो’ उनले भने ।

कार्यक्रममा सहभागीहरुले सकारात्मक राजनीतिक परिवर्तनसँगै शिक्षा क्षेत्रको गुणस्तरीय सुधार र शिक्षकका पेशागत हकहितका विषयलाई प्राथमिकतामा राख्न शिक्षक संगठनले अझ प्रगतिशील भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा शिक्षक आन्दोलन, पेशागत हकहित, शिक्षा नीति, सूचना प्रवाह, मानवअधिकार तथा लोकतन्त्रका विषयमा समेत चर्चा गरिएको थियो । शिक्षा प्रणालीलाई वैज्ञानिक, सीपमूलक र व्यवहारिक बनाउन आवश्यक रहेको धारणा राखेका थिए।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
