खानेपानी र विकासले तिर्खाएको धादिङको ब्रुसबाङ गाउँ

खानेपानी र विकासले तिर्खाएको धादिङको ब्रुसबाङ गाउँ

धादिङ- डाँडाको बस्ती, वरिपरि उभिँदा पनि सिरिङ्ग हुने डरलाग्दो भीर अनि त्यही भीरको पाखामा ज्यान हत्केलामा राखेर गरिने खेतीपाती । भिरमा बुट्यान फाँडेर बनाइएको जमिनमा पसिना बगाएर वर्षभरि दुःख गर्दा पनि मुस्किलले ६ महिना खान पुग्छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ ब्रुसवाङबासी बाँकी ६ महिना ज्याला मजदुरी, कन्दमूल र अनिकालसँग जुँधिरहेका छन् ।

Advertisement

सीमान्तकृत चेपाङ समुदायको बसोबास रहेको ब्रुसबाङको कथा कुनै एउटा समस्यामा मात्र सीमित छैन । न बस्तिसम्मै सडक पुगेको छ, न बिरामी पर्दा औषधि पाउने नजिकै स्वास्थ्य चौकी छ । बालबालिकाका लागि गाउँमा कक्षा १ भन्दा माथि पढ्ने विद्यालय छैन । अनि सबैभन्दा ठूलो सकस— एक गाग्री पानीका लागि तीन घण्टाको जोखिमपूर्ण यात्रा नगरे छिमेकीसँग पानी नै ऐँचोपैँचो गरेर प्यास मेट्नुपर्ने बाध्यता छ ।

केही वर्ष अघिदेखि गाउँमा विजुली बत्ती बल्यो । धेरै वर्षपछि गाउँ उज्यालो हुँदा स्थानीयवासीको अनुहारमा खुसीको किरण नछाएको होइन । तर, घर उज्यालो बने पनि काकाकुल बस्तीको वर्षौँ पुरानो तिर्खा भने अझै मेटिएको छैन । वर्षौँदेखि अभावै अभावको भूमरीमा पिल्सिएका ब्रुसवाङबासी भन्छन्— “गाउँमा खानेपानी कहिले आउला?’’

 

पढ्ने उमेरमा पानीको भारी

ब्रुसवाङका बालबालिकाहरु विहा ४ वजे उठ्छन् । हातमा कापी कलम लिएर पढ्न बस्न होइन, रित्ता बोटल र गाग्री लिएर अभिभावकहरुसँगै धारा पुग्छन् । ९ वर्षीया निशा चेपाङ ब्रुसवाङ आधारभूत विद्यालयमा कक्षा १ मा पढ्छिन् । उनी एकाविहानै ३ घण्टा हिडेर ल्याएको पानी विसौनीको चौतारीमा राखेर आराम गर्दै गरेकी भेटिइन् । सानी निशाले ३ घण्टा हिडेर पानी त ल्याइन्, अब सरमिसले दिनुभएको गृहकार्य कतिबेला गर्ने भन्ने चिन्ता लागेको बताउँछिन् ।

‘बिहानै पानीको जोहो गर्दा घरमा पढ्न–लेख्न पटक्कै भ्याइँदैन । त्यसैले मेरो पढाइ राम्रो हुन सकेको छैन । विहानै ४ वजे धारा जानुपर्छ । आउँदा ७ भन्दा बढी बज्छ । हामीलाई त धेरै समस्या छ । गाउँमै पानी आए त पानी लिन जाने समय घरमै बसेर पढ्न पाउँथेँ । मेरो पनि पढाइ राम्रो हुन्थ्यो होला’ उनले भनिन् ।

११ वर्षीय सुरेश चेपाङको भोगाइ पनि निशाको भन्दा फरक छैन । बिहान र बेलुका गरी दैनिक ६ घण्टा पानी बोक्नैमा उनको बाल्यकाल बितिरहेको छ । कहिले जुनको उज्यालोको सहारामा त कहिले आफूभन्दा ठूलाबडाको पछि–पछि लाइट बालेर धारासम्म पुग्नु उनीहरूको बाध्यता हो । उनले भने– ‘पढ्ने समयमा पानी बोक्नुपर्छ । न होमवर्क गर्न भ्याइन्छ, न त राम्रोसँग पढ्न नै । अहिले त कक्षा १ मा पढ्छु । अब कक्षा २ पढ्न त अर्को गाउँको विद्यालय जानुपर्छ । पढ्न डेढ घण्टा हिँडेर जाने र डेढ घण्टा हिँडेर फर्कनुपर्छ । कहिले पानी बोक्ने, कहिले पढ्न जाने, निकै समस्या हुन्छ ।’

त्यस्तै, बु्रसवाङकी सनिसा चेपाङ पिपलभन्ज्याङ माध्यमिक विद्यालयमा कक्षा ४ मा पढ्छिन् । उनी विद्यालय आउन जान ३ घण्टा र पानी लिन गएको दिन ३ घण्टा गरि दैनिक ५÷६ घण्टा हिड्ने गरेको बताउँछिन् । उनी भन्छिन्–‘बिहान पानी बोक्ने चटारो, घर फर्किएपछि विद्यालय जान हतार हुन्छ । खानेपानीको व्यवस्थापन र विकल्प नहुँदा ठूलो मर्का परेको छ । हिँड्दा हिँड्दा शरीर बेसरी थाक्छ । घरमा गृहकार्य गर्ने फुर्सद हुन्न, विद्यालयमा आएर ध्यान दिएर पढ्न सक्ने अवस्था रहँदैन । हाम्रो त शैक्षिक अवस्था नै सङ्कटमा छ ।’

खानेपानी ऐँचोपैँचो र आकाशे पानीको भर

खानेपानीको अभावका कारण ब्रुसवाङबासीहरूको दैनिकी दिनानुदिन कष्टकर बन्दै गएको छ । बालबालिका, बृद्धवृद्धा, असक्त तथा असहायका लागि पानी बोकेर खानु असंभव जस्तै बनेको ५० वर्षीया फुलमाया चेपाङ बताउँछिन् । ‘गाउँमा पानीको हाहाकार छ । एक गाग्री पानी ल्याउन ३ घण्टा लाग्छ । पानी बोकेरै जीवन सकिने भयो । हामीलाई जस्तो दुःख त कसैलाई छैन होला । उनले भनिन्– ‘बिरामी पर्दा, हतार हुँदा राती पाहुना आयो भने छरछिमेकीसँग पानी सापटी माग्नु पर्छ । खानका लागि मात्र होइन, सुत्केरी हुँदा कपडा धुनसम्म छिमेकीसँग पानी ऐँचोपैँचो गरेका छौँ । पानी बोक्दा बोक्दा बुढी भइयो तर अझै गाउँमा पानी आएन ।’

गाउँमा खानेपानी ल्याउन बन्दै गरेको भौतिक सरंचनाले उनीहरुलाई आश जगाएको छ । गाउँमा खानेपानी आएको दिनबाट उनीहरुको सुखको दिन मात्र होइन जुनी फेरिए बराबर हुने फुलमायाँ बताउँछिन् । फुलमायाँ मात्र होइन गाउँका ३६ घरपरिवार नै डेढ घण्टा जाने र डेढ घण्टा फर्कने गरी तीन घण्टाको बाटो नापेर एक गाग्री पानीको जोहो गर्छन् । बर्खा र बर्सातको समयमा भने आकाशको पानी संकलन गरेर पनि पिउने गरेका छन् । २५ वर्षीया सरिता चेपाङले घरको छानोमा बासको कप्टेरा हालेर हिलट्याङ्कीमा पानी जम्मा गरेकी छिन् ।
आकाशबाट पानी परेको बेला ड्रममा जम्मा भएको त्यहि पानी पिउने गरेको उनी बताउँछिन् ।

‘भ्याएको बेला फिल्टर गरेर खान्छौँ, नभ्याएको बेला त्यत्तिकै पिउँछौँ । मैले मात्र होइन गाउँमा धेरैले यस्तै गर्ने हुन् । दूषित पानीका कारण कहिलेकाहीँ त ठूलो स्वास्थ्य समस्या पनि पर्छ । वाकवाकी लाग्ने, झाडापखाला, आउँ, हैजा जस्ता महामारी फैलिन्छन् । के गर्नु, यो हाम्रो बाध्यता हो । स्वास्थ्य संस्था पनि नजिकै छैन, जचाउन धेरै टाढा जानुपर्छ । खानेपानी, बाटोघाटो, शिक्षा, स्वास्थ्य जस्ता हरेक क्षेत्रबाट हाम्रो समुदाय पछाडी छ । धन्न गाउँमा बिजुली बत्ती चाहिँ आयो, गाउँ झिलिमिली बनेको छ । तर खानेपानीको हाहाकार छ । पानी ल्याउन सबै लागि परेका छन् । कहिले आउने हो थाहा छैन । अझै अरु विकास गाउँमा खै कहिले आइपुग्ला ?’ लामो सास फेर्दै उनले भनिन् ।

६ महिना सहकाल, ६ महिना अनिकाल

ब्रुसबाङवासीको भिरालो र भीरको जमिनबाहेक अन्य खेतबारी छैन । भिरालो जमिनमा मकै र फापर भन्दा अरु अन्नबाली फल्दैन । वर्षभरि ज्यान फालेर काम गर्दा पनि आफ्नै उत्पादनले कसैको परिवारलाई वर्षभरि खान पुग्दैन । ६ महिना सहकाल र ६ महिना अनिकालको यो चक्र वर्षौँदेखि चलिरहेको छ । बाँदर लड्ने भीरमा खेती गरेर ६ महिना मुस्किलले धानेपछि उनीहरू बाँकी ६ महिना ज्याला मजदुरी र कन्दमूलको भरमा गुजारा गर्छन् ।

किशोर चेपाङ भन्छन्– ‘केही वर्ष अगाडिसम्म डोको, डालो, थुन्छे, मान्द्रो तथा भकारी बुनेर बजारमा बेच्ने गरिन्थ्यो । त्यसैबाट बाँकी ६ महिनाको जोहो हुन्थ्यो । तर, पछिल्लो समय प्लास्टिकका सामानको प्रयोग बढ्यो, व्यापारी पनि हराए । निगालोका सामान बिक्नै छाड्यो । त्यसपछि विकल्पका रूपमा तरकारी खेतीतर्फ आकर्षित भएका हौं ।’

 

‘एक त समयमा मल तथा बिउबिजन पाइँदैन, बजारमा पाए पनि गाउँसम्म ल्याउन निकै मुस्किल छ । भीरको जमिनमा खेती गर्न उत्तिकै दुःख छ । त्यसमाथि दुःखले फलाएका कृषिजन्य उत्पादनले उचित बजार र मूल्य पाउन सकेका छैनौं’ उनले भने– ‘एक हलको मेलोमा काक्रो लगाएको थिएँ । लटरम्मै फल्यो पनि । मैलेँ मात्र होइन गाउँमा धेरैले प्रतिकेजी १५ रुपैयाँले बेचे । १० रुपैयाँ गाडी भाडा, गाडी आउने ठाउँसम्म बोकेर पु¥याउन आधी घण्टा, बिउबिजन, मल र हाम्रो दिनभरिको दुःख–पसिनाको हिसाब गर्ने हो भने फाइदा होइन, उल्टै नोक्सान भयो । कहिलेकाहीँ मात्र अलि–अलि फाइदा हुन्छ, नभए जहिल्यै नोक्सान बेहोर्नुपर्छ ।’

बस्ती स्थानान्तरणको आस मात्रै

२०७२ सालमा आएको विनाशकारी गोरखा भूकम्पले ब्रुसवाङलाई थिलथिलो बनायो । बस्तिमा ठूलठूला धाजा फाटे । भौगर्भिक अध्ययन टोलीले ब्रुसवाङ बस्ती मानव बसोबासका लागि असुरक्षित र अयोग्य रहेको प्रतिवेदन समेत निकाल्यो । तर न बु्रसवाङबासी अन्यत्र सर्न चाहे, न सरकारले सुरक्षित स्थानमा स्थानान्तरण नै गर्न सक्यो ।

त्यतिवेला सरकार र विभिन्न निकायबाट बस्ती स्थानान्तरण गर्ने ठूला–ठूला हल्ला, सल्लाह र छलफल गरिए । बु्रसवाङका नागरिकको मतदान गरेका यसै क्षेत्रबाट बागमती प्रदेशमा दुई जना मूख्यमन्त्री समेत भए । स्थानीय सरकारमा पनि फेरिएर नयाँ जनप्रतिनिधि आए । तर, भूकम्प गएको एक दशक वित्दापनि ब्रुसवाङवासीको बस्ती स्थानान्तरण कुरामा मात्रै सिमित रह्यो ।

 

नयाँ पुस्ताले अन्यत्र जान सहमत भएपनि पुराना पुस्ताले थातथलो छाड्न नचाहेको ५० वर्षीय पूर्णबहादुर चेपाङ बताउँछन् । ‘समस्याको भूमरी र चपेटामा कष्टकर जिन्दगी ज्यूँदै आएका छौं । हाम्रो पुस्ताको जीवन त उत्तरार्धतिर पुगिसक्यो । तर हाम्रा भावी पुस्ताले यो सास्ती र समस्या भोग्न नपरोस् । गाउँमै खानेपानी, गाउँमै विद्यालय, स्वास्थ्य संस्था र सडक सञ्जाल आयो भने हामी यहीँ जन्मियौँ, खुसीले यहीँ मर्न तयार छौँ ।’

पूर्णबहादुर थप्छन्, ‘जनप्रतिनिधिहरुले चासो दिइरहेका छन् । अहिले विभिन्न सङ्घसंस्थाले स्थानीय सरकारसँग समन्वय गरेर काम गरिरहेका छन् । गाउँमा खानेपानी, सडक तथा अन्य सेवाहरु पनि छिट्टै गाउँ आइपुग्नेछन् भन्ने हाम्रो विश्वास छ । त्यही आशाले अहिले हामी खुसी बनेका छौँ ।’

समस्या समाधानमा स्थानीय सरकारको चासो

समस्या नै समस्याको चाङमा अत्यास लाग्दो जिन्दगी बिताइरहेका ब्रुसवाङवासीहरू अझै पनि एउटा सुन्दर र उज्यालो भविष्यको पर्खाइमा छन् । उनीहरूले भोगेका खानेपानी, शिक्षा, स्वास्थ्य र भोकमरीका समस्याहरू वास्तवमै हृदयविदारक छन् । बु्रसबाङबासीका समस्या समाधान गर्न स्थानीय सरकारले पनि चासो दिइरहेको छ ।

यहि मंसिरसम्म घर–आँगनमै स्वच्छ खानेपानी पु¥याउने गरी काम भई रहेको बेनीघाट रोराङ गाउँपालिका–२ का वडाध्यक्ष हेमराज भुजेलले बताए । ‘बु्रसबाङ भौगोलिक बनावट र विकासले पछि परेको क्षेत्र हो । तर हामीले गाउँमै खानेपानी पु¥याउने, घर–आँगनसम्म सडक पु¥याउने, स्वास्थ्य संस्था र विद्यालयको स्तरोन्नति गर्ने जस्ता कामहरू अगाडि बढाइरहेका छौं । यहाँको समस्याहरु क्रमिक रुपमा छिट्टै समाधान हुन्छ’ उनले भने ।

‘विभिन्न सङ्घसंस्थाहरूसँग समन्वय गरेर वर्षौँदेखिको यो खानेपानी समस्या समाधान गर्न तीव्र गतिमा काम भइरहेको छ । एका नेपालले हामीलाई सपोर्ट गरिरहेको छ’ उनले भने– ‘खानेपानीमा २० लाख, विद्यालय भवन निर्माणमा ४० लाख, सामुहिक किवी खेतीमा पनि सहयोग मिलेको छ । ब्रुसबाङमा अहिले शिशु कक्षा र १ कक्षासम्म मात्र पढाइ हुने भए पनि अन्यत्र गएर पढ्ने बालबालिकालाई गाउँपालिकाले छात्रावासको व्यवस्था गरेर पढाइएको छ । गाउँनजिकै सडक सञ्जाल जोड्न ४० लाख रकमको काम भएको छ ।’

त्यस्तै बु्रसवाङलाई विकाससँग जोड्न थुप्रै कामहरु भइरहेको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया(विवेक) ले बताए । ‘हरेक वर्ष बु्रसबाङलाई प्राथमिकतामा राखेर निति तथा कार्यक्रम र बजेट ल्याइएको छ । बु्रसबाङलाई सडक सञ्जालसँग जोड्न, गाउँमै खानेपानी ल्याउन, शिक्षा, स्थास्थ्य, कृषिजन्य उत्पादनलाई जोड दिदै कामहरु भइ रहेका छन् ।’ उनले भने– ‘विगतका समस्याका चाङलाई हामीले बिर्सन हुदैन । ५/१० वर्ष अगाडीका ति अत्यास र कहाली लाग्दा समस्याहरु पार गरेर आएका हौं । अहिले गाउँमा बत्ती बल्यो, यो वर्ष पानी आउँछ । स्वास्थ्य चौकी भवन बन्यो, विद्यालय भवन बन्ने चरणमा छन् । सुन्दर बु्रसबाङलाई व्यवस्थित गरेर स्थानीयको दैनिकी सहज बनाउन र आयआर्जन बढाउन स्थानीय सरकार लागिरहेको छ ।’

विकासको आश पलाएको ब्रुसबाङ

बु्रसवाङबासीको जीवन भोगाई अहिले पनि कहाली लाग्दो छ । तर बु्रसबाङमा विकास ठप्पै अनि हुदै नभएको भने होइन । त्यसैले उनीहरुमा कठिन भोगाईका बाबजुद पनि गाउँमै विकास र समृद्धिको सपना जिवितै छन् । गाउँमा विजुली बत्ती बलेजस्तै खानेपानी, शिक्षा, स्वास्थ्य तथा जिविकोपार्जनको क्षेत्रमा सहज पहुँच हुने उनीहरुमा विश्वास छ ।

यहि वर्षको मंसिरभित्र कुर्तिबाङबाट खानेपानी गाउँमै ल्याउने तयारी भइ रहेको छ । बु्रसबाङ नजिकै चोतेसमा स्वास्थ्य चौकी भवन बन्यो, गाउँमै विद्यालय भवन बन्दै छ । गाउँ नजिकै सडक आइपुग्यो । शिव चेपाङ भन्छन्– ‘पुर्खाैदेखि समस्याको भूमरीमा रुमल्लियौं । अहिले हामीले विकास चिन्यौं । विस्तारै विकासले बु्रसबाङलाई पछ्याइरहेको छ ।’

‘गाउँमा विजुली आएको करिव ४ वर्ष भयो । पहिले अरुले दियो भने खाने भन्ने थियो । अहिले हामीले कृषि तालिम लिएका छौं । अरुले दिएको खान नपरोस्, आफले उब्जनी गरेर खाउँ भन्ने बानी प¥यो’, उनले भने– ‘पहिले एक पोका नुन तेलमा लागेका रहेछौं । कसले देला भन्ने लाग्थ्यो । अहिले आफै मेहनत गर्न थालेका छौं । गाउँमै तरकारी तथा फलफुल फलाएका छौं । बारीमा फलेको अन्नबालीले नपुग्दा तरकारी बेचेर राशन किन्न सहयोग मिलेको छ । विकास निर्माणका काम तथा योजनाहरु माग गर्न सक्ने भएका छौं । यो स्थानीय सरकारका कारण हो ।’

नेपालको धेरै ठाउँमा विकास गाउँ पुग्दा नागरिक शहर झरे, गाउँ रित्तिएका छन् । तर शहर झर्ने रहर समेत नभएका बु्रसबाङबासीका लागि विकास पु¥याउन निकै कठिन छ । गाउँमा आधारभूत आवश्यकता परिपूर्तिका लागि सबै एक ढिक्का भएर लागेका छन् ।

बु्रसबाङबासी अहिले आत्मनिर्भर बन्न थालेको रामकृष्ण चेपाङ बताउँछन् । ‘गाउँमा करिव ४ वर्षदेखि विजुली बत्ती आयो । तिन वर्ष अघिदेखि सवाँ करोड भन्दा बढी लगानीमा खानेपानी आयोजना सुरु भएको छ । पानी ट्याङ्की निर्माण, पाइपलाइन, जस्ता कामले गति लिएको छ । गाउँघरमा शाखा पाइप फिटिङ गर्न बाँकी छ । ३ वर्षदेखि थालिएको खानेपानी योजना यो वर्ष पुरा हुन्छ’ उनले भने ।

‘५ वर्ष अगाडी बस्तिबाट सडक निकै टाढा थियो । अहिले आधी घण्टाभित्र सडकबाट गाउँ पुगिन्छ । हरेक क्षेत्रमा बु्रसवाङलाई विकाससँग जोड्न थालिएको छ । पहिले र अहिले धेरै परिवर्तन भएका छन् । केही वर्षमा सबै आधारभूत आवश्यकताहरु हाम्रो सहज पहुँचमा हुनेछ’ उनले भने ।

नेपालमा धेरै राजनीतिक परिवर्तनहरू भए । स्थानीय संरचनापछि गाउँ–गाउँमा सिंहदरबार पुगेको नारा घन्कियो । यहि बु्रसवाङबासीको भोटले दुई जना बागमती प्रदेशको मूख्यमन्त्री समेत भए । तर यो विकट चेपाङ बस्तीमा विकासको विगुल बज्नै सकेन । बिजुलीका पोल ठडिएर बत्ती बल्नुले ब्रुसबाङमा विकासको एउटा सानो ढोका त खोलेको छ, तर खानेपानी, शिक्षा, स्वास्थ्य र सडक जस्ता आधारभूत आवश्यकता नपुग्दासम्म यो यो बत्तीको उज्यालो मधुरै रहनेछ । यहि मङ्सिरभित्रै घर–घरका धारामा पानी खस्यो भने, बालबालिकाले गाउँकै विद्यालयमा पढ्न पाए, विरामी पर्दा गाउँमै उपचार, अनि ६ महिना सहकाल ६ महिना अनिकालको विकल्प खोजिए सुन्दर ब्रुसबाङको स्थानीयमा वास्तविक उज्यालो आउनेछ । अनि विकासले तिर्खाएको बु्रसवाङबासीको विकास र समृद्धिको नयाँ यात्रा सुरु हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट