धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ र २ स्थित सल्यानटारमा निर्माण भइरहेको खानेपानी सहलगानी आयोजना अन्तिम चरणमा पुगेको छ । सल्यानटारबासीलाई घरघरमै स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले मनपाङ खोलाको मुहानबाट करिब १३ किलोमिटर पाइपलाइनमार्फत पानी ल्याएर वितरण गर्ने गरी आयोजना निर्माण गरिएको हो।
हालसम्म एक हजार सात सय घरधुरीमा धारा जडान गरिएको मनपाङ खोला सल्यानटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकी अध्यक्ष सपना श्रेष्ठ (कृष्णकुमारी) ले बताइन् । पाँचौँ साधारणसभा तथा अधिवेशनमा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले हालसम्म एक हजार सात सय घरमा धारा जडान भइसकेको र बाँकी घरधुरीमा धारा जडान गर्ने काम अघि बढिरहेको श्रेष्ठले बताइन्।

आरुघाट विशाल नगर क्षेत्रबाहेक करिब दुई हजार दुई सय ५० घरधुरीमा खानेपानी पुर्याउन सकिने अवस्था छ। प्रारम्भिक सर्वेक्षणमा भने दुई हजार सात सय घरधुरीलाई समेट्ने लक्ष्य राखिएको थियो । आर्थिक अभावका कारण धारा जडान गर्न नसक्ने विपन्न परिवारलाई निःशुल्क धारा उपलब्ध गराउने व्यवस्था मिलाइने उनले बताइन् ।
वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका सल्यानटारवासी घरघरमा धारा र पानी आउने भएपछि खुसी बनेका छन् । सल्यानटार क्षेत्रमा खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न २०७५ सालमा मनपाङ खोलाको मुहान दर्ता गरिएको थियो । त्यसपछि नेपाल सरकार र स्थानीय उपभोक्ताको संयुक्त लगानीमा आयोजना निर्माण प्रक्रिया अघि बढाइएको हो।
नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागत सहभागिता रहने गरी सञ्चालन गरिएको आयोजनाका लागि २३ करोड ८५ लाख ४९ हजार तीन सय ८७ रुपैयाँको ठेक्का सम्झौता गरिएको हो । २०७८ माघ २६ गते ठेक्का प्रक्रिया अघि बढाइएको आयोजनाको निर्माण जिम्मा बुटवलस्थित सगुन कन्स्ट्रक्सनले पाएको छ। निर्माण कम्पनीले अहिले बाँकी काम गरिरहेको छ।
केही घरधुरीमा धारा जडान तथा बाँकी प्राविधिक काम सम्पन्न भएपछि आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिने अध्यक्ष श्रेष्ठले बताइन्। आयोजना हस्तान्तरणपछि उपभोक्ता समितिले नियमित पानी वितरण, संरचनाको मर्मतसम्भार, व्यवस्थापन तथा खानेपानीको गुणस्तर कायम गर्नेछ ।
साधारणसभामा सहभागी जनप्रतिनिधिहरूले आयोजना निर्माण सम्पन्न गर्नुका साथै यसको दिगो सञ्चालन र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन्। खानेपानी नागरिकको आधारभूत आवश्यकता भएकाले सबै घरधुरीमा स्वच्छ र सुरक्षित पानीको पहुँच सुनिश्चित गर्नुपर्ने उनीहरूले बताएका छन् ।
कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देवराज धरेल, वडा अध्यक्ष कृष्ण खत्री, गाउँपालिकाका पूर्वअध्यक्ष शम्भु थापा र पूर्वउपाध्यक्ष देवीकुमारी बुर्लाकोटीलगायतले खानेपानी वितरणमा विपन्न परिवारको पहुँच सुनिश्चित गर्न, उपभोक्ताको अधिकार संरक्षण गर्न र सरसफाइसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
करोडौँ रुपैयाँको लगानीमा निर्माण भइरहेको आयोजनालाई दीर्घकालसम्म सञ्चालन गर्न नियमित मर्मतसम्भार, उपभोक्ता समितिको संस्थागत क्षमता विकास र पारदर्शी व्यवस्थापन आवश्यक रहेको उनीहरूले बताएका छन् ।
समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा अधिवेशनमा आयोजनाको प्रगति, आगामी योजना र उपभोक्ताका सरोकारका विषयमा छलफल गरिएको थियो।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
