धादिङ– प्रशासनिक सिमाना हेरफेरका कारण चितवनको खैरहनीमा रहेका धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ अन्तर्गतका २०७ कित्ता जग्गाको नक्सा तथा जग्गाधनी दर्ता स्रेस्ता (मोठ) धादिङ ल्याइएको छ । भूमि प्रशासन कार्यालय खैरहनी र नापी कार्यालय खैरहनीले साविक लोथर गाविसअन्तर्गतका जग्गाको अभिलेख औपचारिक रूपमा भूमि प्रशासन कार्यालय र नापी कार्यालय धादिङलाई हस्तान्तरण गरेका हुन् ।


भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागको निर्णय तथा निर्देशनअनुसार प्रशासनिक सिमाना फरक परेका कारण अन्य जिल्लामा रहेका जग्गाका अभिलेख सम्बन्धित जिल्लामै सार्ने प्रक्रियाअन्तर्गत अभिलेख हस्तान्तरण गरिएको हो । करिब ५० वर्षदेखि जग्गासम्बन्धी कामका लागि चितवन धाउनुपर्ने बाध्यता हट्ने भएपछि स्थानीयवासी खुसी भएका छन् ।

