सांकोष पशुपति मन्दिरमा बालाचतुर्दशी मेलाको तयारी तिव्र

सांकोष पशुपति मन्दिरमा बालाचतुर्दशी मेलाको तयारी तिव्र

धादिङ- धादिङको नीलकण्ठ नगरपालिका–१२ सांकोषस्थित पशुपति मन्दिरमा लाग्ने बालाचतुर्दशी मेलाको तयारी तीव्र पारिएको छ । मन्दिर क्षेत्र व्यवस्थापन समितिले धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै यस वर्षको मेलाको भव्य र व्यवस्थित तयारी भएको शनिवार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको हो ।

Advertisement

मन्दिर क्षेत्र व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा सल्लाहकार बद्रीप्रसाद लम्सालले २०२४ सालदेखि औपचारिक रूपमा बालाचतुर्दशी मेला लाग्दै आएको बताए । धादिङबाट काठमाडौंस्थित पशुपतिनाथ मन्दिर पुगेर सतबिज छर्न सबैलाई सहज नभएपछि स्थानीय अग्रजहरूले आफ्नै क्षेत्रमा मेला सञ्चालन गर्दै आएका हुन् ।

जीवनाथ लम्साल र खडानन्द कोइरालाको अगुवाइमा तत्कालीन राजा महेन्द्रको पालामा मेला सञ्चालनका लागि अनुमति लिइएको थियो । तत्कालीन चारवटा पञ्चायतका प्रधानपञ्च तथा स्थानीय बुद्धिजीवीहरूको सहयोगमा सुरु भएको मेलाले अहिले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको छ । पुर्खाले सुरु गरेको परम्परालाई पछिल्ला पुस्ताले निरन्तरता दिँदै आएका छन् ।

बालाचतुर्दशीका अवसरमा वर्षभरिमा दिवङ्गत भएका आफन्तको सम्झनामा भक्तजनले मन्दिर परिसरमा रातभर दीप प्रज्वलन गरी जाग्राम बस्ने परम्परा छ । भोलिपल्ट बिहान बिन्दुकेश्वरा (थोपल) नदी र आसी खोलाको सङ्गमस्थलमा स्नान गरी सतबिज छरेर मन्दिरसम्म पुग्ने र तीन पटक परिक्रमा गर्ने धार्मिक विधि रहेको लम्सालले बताए । यस वर्ष मंसिर २० गते मेला लाग्ने र २१ गते विहान सतविज छर्ने तथा फुलको डोली तार्ने कार्यक्रम रहेको छ ।

स्थानीय धार्मिक मान्यताअनुसार लगातार तीन वर्षसम्म सतबिज छर्ने र चौथो वर्षमा होम गरी कर्म सम्पन्न गर्ने चलनसमेत छ । यसरी सतबिज छर्दा दिवङ्गत पितृले शान्ति प्राप्त गर्ने र पुण्य मिल्ने जनविश्वास रहँदै आएको छ । मेलाको निरन्तरता र मन्दिरको संरक्षणमा स्थानीय समुदाय तथा विभिन्न संघसंस्था सक्रिय छन् । मन्दिर क्षेत्र व्यवस्थापन समिति, टोल सुधार समिति, पशुपति सामुदायिक वन र पशुपति आदर्श समाजले मन्दिरको सरसफाइ, रङरोगन, प्रवेशद्वार तथा भौतिक संरचनाको व्यवस्थापनमा सहयोग गर्दै आएका छन् ।

मन्दिरको पूर्वाधार र सौन्दर्यकरणमा भक्तजन तथा दाताहरूले व्यक्तिगत रूपमा समेत सहयोग गर्दै आएका छन् । यस वर्ष विदेशमा रहेका स्थानीय बाबुराम कुमालले मन्दिरमा झल्लरी सहयोग गरेको मन्दिर क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर भण्डारी (मिलन) ले बताए । ‘यसअघि कृष्ण लम्सालले पनि व्यक्तिगत सहयोगमा झल्लरी राखेका थिए । बालाचतुर्दशी मेलामा सहभागी भई पुर्खाले स्थापित गरेको धार्मिक र सांस्कृतिक परम्पराको संरक्षणमा सहयोग गरिदिनु हुन सबैमा अनुरोध छ’ उनले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट