





























धादिङ- जिल्ला प्रशासन कार्यालय धादिङबाट सेवा लिने सेवाग्राहीको संख्या एक सातायता ह्वात्तै बढेको छ । नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी (पासपोर्ट) जस्ता अति आवश्यक कागजपत्र बनाउनेको चाप विगतको तुलनामा झण्डै दोब्बर पुगेको हो ।


जिल्ला प्रशासन कार्यालय धादिङबाट सेवा लिनेहरुको संख्या माघ यता दोब्बर भएको धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताए । ‘विगतमा भन्दा माघ महिनामा सेवाग्राहीहरु अझै बढेका छन् । झण्डै दुई गुणाले सेवाग्राहीहरुको चाप छ’ उनले भने– ‘टाढा टाढादेखि सेवा लिन आएका सेवाग्राहीहरुलाई सेवा दिनै पर्याे । सहज सेवा प्रवाहमा कति पनि कन्ज्यूँस्याइ गरेका छैनौं । कर्मचारीहरुलाई भार र गाह्रो भएपनि हामीले कार्यालय समयमा नभ्याएकाहरुलाई थप समयमा पनि सेवा प्रवाह गरि रहेका छौं ।’

प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार यसअघि दैनिक रूपमा करिब ५० जनाले नागरिकता, ५० जनाले राष्ट्रिय परिचय पत्र र ३५ जनाले राहदानी बनाउँदै आएकोमा हाल नागरिकता बनाउनेको संख्या करिब १००, राष्ट्रिय परिचय पत्र ११० र राहदानी ३५ जनासम्म पुगेको छ । बनिसकेका राष्ट्रिय परिचय पत्र र राहदानी लिन आउने सेवाग्राहीको चाप भने उस्तै रहेको उनले जानकारी दिए ।
माघे संक्रान्ति र आसन्न निर्वाचनका कारण घर फर्किएका नागरिकले कागजपत्र बनाउने अवसरको रूपमा उपयोग गरेकाले सेवाग्राहीको भीड बढेको हुनसक्ने उनले बताए । “कार्यालय समयमै सेवा नपुगेकाहरूका लागि अतिरिक्त समयसमेत दिएर छिटोछरितो सेवा प्रवाह गरिरहेका छौँ,” उनले भने ।

