ह्वात्तै घट्यो पेट्रोलियम पदार्थको मूल्य

  • २०८३ अषाढ १७, बुधबार (१ मिनेट अघि)
  • १९ पटक पढिएको
ह्वात्तै घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं– नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घटाएको हो ।

Advertisement

निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

योसँगै पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल १९२ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १९६ रुपैयाँ तथा डिजेल र मट्टितेल १९४ रुपैयाँ तथा तेस्रो वर्ग काठमाण्डौ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १९५ रुपैयाँ कायम भएको छ ।

आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा १५ रुपैयाँ ९ पैसा, डिजेलमा २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धनमा २९ रुपैयाँ ४२ पैसा र ग्यासमा समेत मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो ।

त्यसैगरी, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर एक सय रुपैयाँ घटाइएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य अब प्रतिसिलिन्डर अर्थात् १४.२ किलोको दुई हजार ६० रुपैयाँ रहेको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर दुई सय २९ रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य काठमाण्डौका लागि प्रतिकिलोलिटर दुई सय ६५ अमेरिकी डलरले घटाएर एक हजार ५ सय ६६ डलर कायम गरिएको छ । पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय हवाई इन्धनको हकमा भने निगमले ‘ब्रेकइभन पोइन्ट’ (नाफा घाटा नहुने बिन्दु) मा बिक्री मूल्य कायम गरेको जनाएको छ । जसअनुसार अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पोखरामा एक हजार एक सय डलर र भैरहवामा एक हजार ८५ डलर तोकिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट