बाढी प्रभावित क्षेत्रमा महिला तथा किशोरी सुरक्षित स्थान सञ्चालन

  • २०८३ आश्विन १४, बुधबार (३ मिनेट अघि)
  • २ पटक पढिएको
बाढी प्रभावित क्षेत्रमा महिला तथा किशोरी सुरक्षित स्थान सञ्चालन

धादिङ– भोटेकोशी बाढी प्रभावित धादिङका दुई स्थानीय तहमा महिला तथा किशोरी सुरक्षित स्थान सञ्चालन गरिएको छ ।ISRA AID र सहयात्री समाज नेपालको साझेदारीमा बेनीघाट रोराङ गाउँपालिका र गजुरी गाउँपालिकामा एकीकृत खानेपानी, सरसफाइ, संरक्षण तथा जनस्वास्थ्य सहयोग कार्यक्रम सुरु गरिएको हो ।

Advertisement

‘भोटेकोशी बाढी आपतकालीन प्रतिक्रिया–धादिङ नेपाल’ कार्यक्रमअन्तर्गत गजुरी गाउँपालिका–५ गलौदी र वडा नम्बर ६ रातमाटेमा रहेका होल्डिङ सेन्टरमा महिला तथा किशोरीमैत्री स्थान सञ्चालनमा ल्याइएको हो । विपद्का समयमा अस्थायी आवास तथा सामूहिक बसाइका कारण महिला, किशोरी र बालिकामाथि यौनजन्य हिंसा, बेचबिखन, घरेलु हिंसा तथा साइबर अपराधलगायतका जोखिम बढ्न सक्ने भएकाले जोखिम न्यूनीकरणका लागि महिला तथा किशोरीमैत्री स्थान सञ्चालन गरिएको संस्थाले जनाएको छ ।

यस्ता स्थानबाट हिंसा वा जोखिममा परेका महिला तथा किशोरीलाई आवश्यक सहयोग तथा सेवामा पहुँच पुर्याउने, सम्भावित जोखिमबारे सचेतना अभिवृद्धि गर्ने तथा घटना भइहाले कहाँ जाने, कसलाई जानकारी गराउने र कसरी सुरक्षित रूपमा बाहिर निस्कने भन्ने विषयमा जानकारी दिइनेछ ।

कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा सरसफाइ, प्रजनन स्वास्थ्य, महिनावारी स्वास्थ्य र मानसिक स्वास्थ्यलगायतका विषयमा पनि सचेतना कक्षा सञ्चालन गरिनेछ । यस्ता कार्यक्रम होल्डिङ सेन्टरसँगै गजुरी–२ को विहानी पम्प र फुर्केखोलाका साथै बेनिघाट रोराङ गाउँपालिकाको बुद्धिविकास आधारभूत विद्यालयमा समेत सञ्चालन गरिने संस्थाले जनाएको छ । होल्डिङ सेन्टरमा महिला तथा किशोरीका लागि सुरक्षित स्नानघर, महिलामैत्री शौचालय तथा खानेपानीको सहज व्यवस्थापनका लागि समेत काम गरिनेछ ।

कार्यक्रमअन्तर्गत दुईवटा होल्डिङ सेन्टर, फुर्केखोला, विहानी पम्प र बुद्धिविकास आधारभूत विद्यालयमा विशेषज्ञसहितको स्वास्थ्य शिविरसमेत सञ्चालन गरिनेछ । स्वास्थ्य शिविरमार्फत बाढी प्रभावित समुदायको स्वास्थ्य अवस्थाको परीक्षण तथा आवश्यक परामर्श र सेवामा पहुँच पुर्याउने लक्ष्य राखिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट