महिला अभिभावकको सक्रियताले सुध्रियो बालबालिकाको पढाई

  • २०८१ चैत्र २१, बिहिबार (२ महिना अघि)
  • २८८ पटक पढिएको
महिला अभिभावकको सक्रियताले सुध्रियो बालबालिकाको पढाई

काठमाडौं– धादिङको बेनीघाट रोराङ गाउँपालिका–८ की सरिता चेपाङ अधिकाशं दिनहरुमा गोठिभञ्ज्याङ आधारभूत विद्यालय पुग्छिन् । उनी न शिक्षक हुन्, त विद्यालयको कर्मचारी तर छोरीको पढाई बुझ्न र छोरीलाई उत्प्रेरणा दिन विद्यालय पुग्छिन् । छोरीसँगै विद्यालय पुग्ने सरिताले शिक्षाको महत्व र शैक्षिक सुधारका लागि विद्यार्थी, शिक्षक र अभिभावकको भूमिकाका बारेका जानकार भएकी छिन् ।

Advertisement

गोठिभञ्ज्याङ टोलका बालबालिकाहरु नियमित विद्यालय जादैन थिए । घरमा पनि पढ्ने वातावरण थिएन । सरसफाइमा समेत ध्यान दिइएको पाइदैन थियो । बालबालिकाप्रति अभिभावकहरुको चासो कम थियो । विद्यालय शिक्षिका सानुमाया चेपाङले उपायहरुको खोजि गर्ने क्रममा प्रयास नेपालकी सुमित्रा चेपाङसँगको भेटले शैक्षिक क्षेत्रमा ठूलो परिवर्तन ल्यायो ।

अभिभावक शिक्षा कक्षा संचालन भयो । विद्यालय व्यवस्थापन समितिको बैठक, अभिभावक शिक्षा सत्र संचालन, नियमित बैठक लगायतका क्रियाकलापले सरिता जस्तै थुप्रै आमाहरुलाई विद्यालय र शैक्षिक गतिविधिसँग जोड्यो । अभिभावकको नियमित सक्रिय उपस्थिति, छलफलमा बाल विकास उमेरका बालबालिकाप्रति अभिभावकहरुको उत्तर दायित्व, बाल विकास कक्षाका सहजकर्ता र अभिभावकको सम्बन्ध, बालबिकासको महत्व, शिक्षाको महत्व, अभिभावक, शिक्षक, विद्यार्थीविचको सम्बन्ध लगायतका विषयमा छलफलले गाउँमा परिवर्तन ल्यायो ।
छोरीको भविष्य खोज्दै गरेकी सरिताले विद्यालयबाट धेरै कुरा सिकेको बताउँछिन् । छोराछोरीलाई विद्यालय पठाए भइहाल्यो नि भन्ने मानसिकता हटेको छ । अभिभावकले चासो दिए बालबालिकाको शैक्षिक सुधार सहज हुने लगायतका कुराहरु थाहा पाएको उनले बताइन् ।

सरिता जस्तै जनप्रभात आधारभूत विद्यालयकी बिबिता चेपाङ, सोमिता चेपाङ, कालिका माध्यामिक विद्यालयकी चन्द्र कुमारी चेपाङ, फुलमाया चेपाङ अहिले बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६, ८ र १० का १९ सामुदायिक विद्यालयका ३ सय जना आमा अभिभावकहरु विद्यालय र बालबालिकाहरुको पढाईप्रति चासो दिन थालेका छन् । अभिभावकहरुको सक्रियता बढेसँगै बालबालिका नियमित आउने गरेको, सरसफाइमा ध्यान दिने, शैक्षिक गुणस्तरमा सुधार भएको वाल विकास शिक्षिका सरस्वती चेपाङ बताउँछिन् ।

चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले सञ्चालन गरेको शिक्षामा पहुँच सुनिश्चितता परियोजनाले बेनीघाट रोराङ गाउँपालिका भित्र रहेका विद्यालयको शैक्षिक सुधारमा ठूलो सहयोग पुगेको बेनीघाट रोराङ गाउँपालिका शिक्षा अधिकृत बोधराज पाठकले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट