बञ्चरेडाँडामा हट्यो फोहोर विसर्जन अवरोध

  • २०८२ कार्तिक १६, आईतबार (१ मिनेट अघि)
  • ६ पटक पढिएको
बञ्चरेडाँडामा हट्यो फोहोर विसर्जन अवरोध

काठमाडौं– शहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानियसँग विभिन्न समयमा भएका सहमतिहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार बञ्चरेडाँडास्थित ल्याण्डफिल साइटको अनुगमन गर्ने क्रममा उनले स्थानीयका मागहरू १५ दिनभित्र पूरा गर्ने प्रतिवद्धता जनाएका हुन् ।

Advertisement

‘वातावरणीय प्रभाव मूल्याङ्कनबाहेक अन्य मागहरू १५ दिनभित्र पूरा हुन्छ । वातावरणीय प्रभाव मूल्याङ्कन भने पुस महिनापछि हुनेछ । परामर्शदाता छनौट गरी काम भइरहेको छ’ उनले भने– ‘ल्याण्डफिल साइटबाट प्रभावित हुने क्षेत्रको यकिन गर्न चार चरणको तथ्याङ्क आवश्यक पर्छ । पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) सम्पन्न गर्न केही समय लाग्नेछ । तर सबै मागहरु पुरा हुनेछन् ।’

स्थानीयवासी र नगरपालिकाबीच २०७९ मा भएको १८ बुँदे सहमति र २०८० सालमा प्रधानमन्त्रीसँग भएको ४ बुँदे सहमति अझै कार्यन्वयनमा नआएको स्थानीयले आक्रोस व्यक्त गरेका छन् । स्थानियवासीसँग भएको सम्झौतालाई अनिवार्य कार्यन्वयन गर्नुपर्ने पक्षमा स्थानीय उभिएका थिए । गरिएका सम्झौता पुरा नभएसम्म फोहोर फाल्न स्थानीयले नदिने धुनिवेशी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्यले बताए । ‘ ल्याण्डफिल साइटका कारण स्थानीयले ठूलो क्षति तथा सास्ती खेप्नु परेको छ । तर स्थानीयसँग भएका सम्झौताहरु पनि पुरा भएका छैनन् । सरकारसँग विगतमा भएको जमिनको रेखाङ्कन, मूल्याङकन, अधिकरण, निक्षेपको व्यवस्थापन सम्बन्धी भएको सहमति कार्यन्वयन हुनुपर्छ’ उनले भने ।

मन्त्री घिसिङले स्थानीयको माग पूरा गर्ने प्रतिबद्धता जनाएसँगै बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जन गर्न पाँच दिन यता भइरहेको अवरोध हटेको छ । अवरोध हटेपछि सडकमै अलपत्र परेका र काठमाडौंमा फोहोर लोड भएका गाडी ल्याण्डफिलसाइटतर्फ गएका छन् । फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका लागि मन्त्री घिसिङ, शहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौं, नुवाकोट तथा धादिङका प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिका कार्यकारी अधिकृतसहितको टोली लिएर आइतबार बिहान बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट पुगेका थिए ।

टोलीले फोहोर विसर्जन गर्ने ठाउँको स्थलगलत निरीक्षण गर्नुकासाथै ल्याण्डफिल साइट पर्ने धादिङको धुनिवेशी नगरपालिकाका प्रमुख, नुवाकोटका ककनी गाउँपालिका अध्यक्ष, प्रभावित वडाका वडाध्यक्षहरूले स्थानीय बासिन्दासँग अन्तक्रिया गरेका थिए । अन्तरक्रियापछि भएको सहमतिका आधारमा साइटमा फोहोर विसर्जन गर्न पाँच दिन यता भइरहेको अवरोध हटेको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट