कार्बन उत्सर्जनमा नगण्य योगदान, जलवायु विपत्तिको मारमा नेपाल: प्रधानमन्त्री शाह

  • २०८३ आश्विन ९, शुक्रबार (४१ मिनेट अघि)
  • ४ पटक पढिएको
कार्बन उत्सर्जनमा नगण्य योगदान, जलवायु विपत्तिको मारमा नेपाल: प्रधानमन्त्री शाह

काठमाडौं- नेपालले विश्वव्यापी कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु संकटको ठूलो मूल्य चुकाउन बाध्य भएको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन् ।

Advertisement

संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु संकट सिर्जना गर्न नेपालको भूमिका नगण्य भए पनि त्यसको प्रत्यक्ष असर नेपालले भोगिरहेको बताएका हुन् । हिमनदी पग्लिनेदेखि पहाड अस्थिर बन्ने र नदीहरू अप्रत्याशित बन्दै जाने अवस्थाले नेपालको विकासमै गम्भीर चुनौती थपिएको उनले बताए ।
‘नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना मात्र होइन, यो विकाससम्बन्धी आपतकाल हो,’ उनले भने– ‘जलवायुजन्य विपत्तिले सडक, पुल, विद्यालय, घर, कृषि र जीविकोपार्जनका साधन नष्ट गर्नुका साथै भविष्यका लागि आवश्यक स्वच्छ ऊर्जा पूर्वाधारसमेत जोखिममा पारेको छ । विपत्तिबाट भएको क्षति मर्मत गर्न नेपालजस्तो गरिब देशले ऋण लिनुपर्ने अवस्था रहेको छ ।’

प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटका लागि कुनै देश वा महाद्वीपलाई दोष दिन आफूहरू नआएको बताए । जलवायु परिवर्तनलाई अर्को भू–राजनीतिक युद्धमैदान बनाउन नहुने भन्दै उनले विश्व समुदायलाई जिम्मेवारी र ऐक्यबद्धता साझा गर्न आह्वान गरे ।

भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढी तथा त्यसबाट भएको विनाशले जलवायु संकटको गम्भीरता देखाएको उल्लेख गर्दै उनले विपत्तिको प्रभाव नेपालमा मात्रै सीमित नभएको बताए । बाढी, पहिरोलगायतका विपत्तिले नेपाल–चीन सीमाका दुवैतर्फ क्षति पु¥याएको र त्यसको प्रभाव भारतसम्म पुगेको उनले बताए ।

प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली महाविपत्तिमा कम्तीमा १ हजार ४ सय जनाको मृत्यु र ६ हजारभन्दा बढी मानिस अझै बेपत्ता रहेको जानकारी गराए । बाढीपछिको पुनर्निर्माणका लागि नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब १० प्रतिशत बराबरको स्रोत आवश्यक पर्ने उनले बताए।

जलवायु संकट सामना गर्ने क्रममा ऐतिहासिक रूपमा बढी योगदान गरेका र त्यसका लागि बढी क्षमता भएका देशले बढी जिम्मेवारी लिनुपर्ने उल्लेख गर्दै जलवायु न्यायलाई संयुक्त राष्ट्रसंघका दस्तावेजमा सीमित नाराका रूपमा नराखी जोखिममा रहेका देशलाई पुनर्निर्माणसँगै भविष्य निर्माण गर्ने अवसर दिनुपर्ने उनले बताए ।

प्रधानमन्त्री शाहले भने– ‘हामी यहाँ सबैलाई पुनः प्रतिबद्ध हुन, जिम्मेवारी र ऐक्यबद्धता साझा गर्न आह्वान गर्न आएका हौँ ।’

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट