धादिङ– पूर्वसञ्चारमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदिश खरेलले धादिङको फुर्के खोला पुलमा बेलीव्रिज राख्न पहल गर्ने बताएका छन् । रास्वपाको ‘हामी आउँदैछौँ’ अभियानको सुरुवात गर्न धादिङ आएका खरेलले फुर्के खोला पुल उत्तरी धादिङसहित गोरखाका केही क्षेत्रका लागि मुख्य मार्ग भएकाले तत्काल बेलीव्रिज निर्माण गर्नुपर्ने बताएका हुन्।


‘दीर्घकालीन समाधानका लागि विकल्प खोजिनुपर्छ। तत्कालका लागि बेलीव्रिज निर्माण गर्नुपर्छ। म केन्द्र सरकारसमक्ष यो सवाल राख्नेछु,’ उनले भने, ‘फुर्के खोलामा बेलीव्रिजसँगै वैकल्पिक मार्गका रूपमा रहेको परेवाटार–मासटार सडक कालोपत्रे गर्न पनि पहल गर्नेछौँ।’
बाढीले फुर्के खोला पुल बगाएपछि उत्तरी धादिङसँगको सडक सम्पर्क प्रभावित हुँदै आएको छ। पुल पुनर्निर्माणमा ढिलाइ भइरहेका बेला बेलीव्रिजमार्फत तत्काल यातायात सञ्चालन गर्नुपर्ने खरेलले बताए ।
खरेलले रास्वपाले पाँचवटा विषयलाई प्राथमिकतामा राखेर ‘करारनामा’ अघि बढाएको बताए। उनका अनुसार ती सुशासन, आर्थिक समृद्धि, रोजगारी, सम्पर्क र प्रवास हुन् । ‘सदाचार र सुशासनलाई पहिलो आधारशिला वर्ष बनाएका छौँ। गरिबीको रेखामुनि रहेका नागरिकको जीवनस्तर कसरी उठाउने भन्ने विषय महत्वपूर्ण हो। रोजगारी बढाउनुपर्ने छ,’ उनले भने।
देशबाहिर रहेका नेपालीलाई समेत पार्टीको प्राथमिकतामा राखिएको उनले बताए। करिब ८० लाख नेपाली विदेशमा रहेको उल्लेख गर्दै खरेलले उनीहरूलाई सम्बोधन गर्न नसकेसम्म विश्वभर रहेका नेपालीलाई राज्यको मूल प्रवाहमा जोड्न नसकिने भन्दै विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउने विषयमा रास्वपा दृढ रहेको उनले बताए ।
‘विदेशमा बसोबास गरिरहेका नेपाली पनि देशकै हिस्सा हुन्। उनीहरूलाई नागरिकताको अधिकार, लगानीको अधिकार तथा मताधिकार उपलब्ध गराउने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी दृढताका साथ उभिनेछ,’ उनले भने।

