पसाउन लागेका धानका बोट पहेँलो हुँदै सुक्न थालेपछि कृषक चिन्तित

  • २०८१ आश्विन २४, बिहिबार (१ साल अघि)
  • ४९७ पटक पढिएको
पसाउन लागेका धानका बोट पहेँलो हुँदै सुक्न थालेपछि कृषक चिन्तित

काठमाडौं– पाल्पा रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको पसाउन नसकेर धानको बोट सुक्दै गएको छ । धानका पात पहेँलो हुँदै जाने र बिस्तारै बोट सुक्दै जान थालेपछि पसाउन सकेको छैन ।

Advertisement

उनले तीन रोपनी जग्गामा लगाएको सावित्री जातको धानमा यस्तो समस्या देखिएको छ । हर्दिनाथ जातको धानमा भने समस्या नदेखिएको उनले गुनासो गरिन् । गत भदौको तेस्रो हप्ताबाट धान बालीमा समस्या देखिएको किसान पङ्गेनीले बताइन् ।

“पहिला धानको बोट राम्रै थियो, भदौको तेस्रो हप्तापछि एक्कासी धानमा समस्या देखियो, चार÷पाँच दिनमा बोट पूरै रातै हुने र सुक्न थाल्यो, बोट सुक्न थालेपछि दुई पटकसम्म विषादी छरे तर काम लागेन, अहिले धान पहेँलिएर पुरै सुकेको छ, पसाउन सकेन”, उनले भनिन् । उनले हरेक वर्ष तीन रोपनी जग्गाबाट १६ मुरी धान उत्पादन लिँदै आएकी थिइन् ।

यस वर्ष पनि धेरै धान स्याहार्ने तयारीमा थिइन् उनी । तर धान नै नपसाएपछि उनी चिन्तित बनेकी छन् । लामो समयदेखि कृषि गर्दै आएकी निरमायाले यस्तो समस्या पहिलो पटक देखा परेको बताउँछिन् ।

“धान उत्पादन गरेर घर खर्चका लागि बिक्रीसमेत गर्ने गर्थे, यस पटक पनि समयमा नै वर्षा भयो, बोट राम्रो थियो, राम्रो धान फल्ने भयो भनेर खुसी भएको थिएँ, तर धानमा रोग लागेर पसाउनै सकेन”, उनले भनिन्, “खनजोत, बीउ खरिद, गोडमेल गर्दा धेरै खर्च लागेको छ, सबै लगानी माटोमा विलिन भयो ।”
विजयपुर कृषि सहकारी संस्थाको समन्वयमा रामपुरमा धानको बीज वृद्धि कार्यक्रम चलिरहेको छ । बीज वृद्धिका लागि लगाइएका धानमा समस्या देखिएको छ । धान बालीमा भुरुङ उड्ने भुसुना जस्तो किरा पातमा छपक्कै बसेर पात चुसेर खाने, अनि बोट पहेँलिँदै जाने समस्या देखिएको विजयपुर कृषि सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश रेग्मी बताउँछन् ।

केही ठाउँमा मल, विषादी प्रयोग गरेपछि नियन्त्रणमा आएको छ भने केही ठाउँमा मल, विषादी राखे पनि नियन्त्रणमा आउन नसकेको उनले जानकारी दिए । हर्दिनाथ जातको धानमा खासै समस्या छैन, सावित्री जातको धानमा लगभग सबैमा समस्या देखिएको अध्यक्ष रेग्मीले जानकारी दिए । उनका अनुसार यस वर्ष धानमा समस्या देखिएकाले उत्पादन घट्ने भएको छ । सहकारीले सावित्री र हर्दिनाथ जातको करिब १५ हेक्टर क्षेत्रफलमा सात मेट्रिकटन बीउ उत्पादन गर्ने गरी धान लगाएको छ ।

जिल्लामा सबैभन्दा धेरै रामपुर नगरपालिकामा धान बालीमा समस्या देखिएको कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त प्रमुख सन्तोषकुमार चौधरीले बताए । विशेष गरी रामपुरको वडा नं ५ र ६ मा धानमा रोगको समस्या बढी छ । रामपुरसँगै जिल्लाको माथागढी, तिनाउलगायत अन्य स्थानमा प्रकोप देखिएको र उपचारपश्चात् क्रमिक रूपमा सुधार भएको उनले बताए

“पहेँलो देखिएका धान बालीमा अहिले समस्या बढेको छैन, कृषि शाखाको समन्वयमा कृषि ज्ञान केन्द्रले कृषकलाई विषादी वितरण गरेको छ, समस्या देखिएका स्थानमा कृषि प्राविधिकले अवलोकन गरी विषादी राख्न सुझाव दिइएको छ”, उनले भने ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट