काठमाडौं– बागमती प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीको शपथ रोकिएको छ । बिहान ९ बजे प्रदेश प्रमुख कार्यालयमा नवनियुक्त मन्त्रीहरूको शपथ हुने सम्बन्धि जानकारी प्रदेश प्रमुख कार्यालयलाई समेत गराइएको भएपनि रोकिएको हो ।
आज बुधबार बिहान मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलका प्रमुख सचेतक समेत रहेका धादिङका गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्री, चितवनका माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्री र गीता गुरूङलाई सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त गरेका थिए ।
नेकपा एमालेले संवेदनशील अवस्थामा मन्त्री नियुक्त गर्नु उपयुक्त नहुने धारणा राखेपछि मुख्यमन्त्री लामा रोकिएका हुन् ।
नेकपा एमालेले मुख्यमन्त्री बहादुरसिंह लामालाई फोन गरेर सरकार विस्तार नगर्न अनुरोध गरेपछि शपथ ग्रहण कार्यक्रम रोकिएको हो ।
मन्त्री नियुक्ति र शपथले गलत सन्देश जाने एमालेको धारणा छ । एमालेको आग्रहपछि मुख्यमन्त्री लामा भने यतिखेर अन्योलमा परेका छन् । मन्त्री बनेपनि शपथ ग्रहण कार्यक्रम नभएपछि नेपाली कांग्रेस र सरकारको भावी योजना र भविष्य बारे नागरिकहरु समेत कौतुहलतामा छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप